चीनद्वारा नेपाललाई सक्दो सहयोग गर्ने आश्वासन
काठमाडौं । चीनले नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । शुक्रवार चीनको राजधानी बेइजिङमा भएको परराष्ट्र सचिवस्तरीय द्विपक्षीय कुटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा चीनले यस्तो आश्वासन दिएको हो । बैठकमा राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा छलफल भएको चीनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार नेपालमा चिनियाँ अनुदानका परियोजनाको समयबद्ध कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन् ।
यस्तै, चिनियाँ अनुदान सहयोगमा निर्माण भइरहेका विभिन्न पूर्वाधार विकास आयोजना र चिनियाँले ठेक्का लिएका आयोजना समयमै सम्पन्न गर्न कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा सहमति पनि भएको छ । नेपालले चिया, कफी, जडीबुटी, राँगा÷भैँसीको मासु तथा कृषिजन्य वस्तुलाई चीनमा निर्यातका लागि वातावरण बनाइदिन गरेको आग्रहमा चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जवाफ दिएको छ ।
बैठकमा दुई देशबीच आर्थिक साझेदारी, व्यापार प्रवर्द्धन, लगानी र पर्यटन, कनेक्टिभिटी निर्माण, कृषि, शिक्षा, सांस्कृतिक तथा जनस्तरको सम्बन्धबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौड्याल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका उपमन्त्री सुन वेइदोङले गरेका थिए ।