भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमदको हत्या
काठमाडौं । भारत उत्तर प्रदेशको प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ । पूर्व विधायक राजु पालको हत्यामा संलग्न अतिक अहमद र अशरफलाई जेलमा राखिएको थियो । राजु पाल हत्या प्रकरणका साक्षी उमेश पालको हत्याको सम्बन्धमा सोधपुछका लागि उनलाई प्रयागराज ल्याइएको हो । अतिक अहमदका छोरा असदलाई उत्तर प्रदेश प्रहरीको स्पेशल टास्क फोर्सले तीन दिनअघि झाँसीमा इन्काउन्टरकम सिध्याएको थियो । असदसँगै यस मुडभेडमा गुलाम नामका अर्का व्यक्ति पनि मारिएका थिए । असद र गुलामको शनिबार नै अन्तिम संस्कार गरिएको थियो ।
प्रहरीका अनुसार अतिक र अशरफको हत्या गर्नेहरू सञ्चारकर्मी बनेर आएका थिए । जानकारी अनुसार अतिकलाई मेडिकलका लागि लगिएको थियो । प्रहरी संरक्षणमा यो हत्या भएपछि प्रदेशमा कानुनी राज नभएको भन्दै विपक्षीहरुले मुख्यमन्त्री योगी आदित्यनाथको विरोध गरिरहेका छन् ।
यसबीच उत्तर प्रदेशमा धारा १४४ लगाइएको छ । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो गरिएको हो । उत्तर प्रदेश सरकारले प्रहरीलाई सतर्क रहन आदेश दिएको छ । शनिबार अबेर राति जारी गरिएको आदेशमा राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई सतर्क रहन निर्देशन दिएका हुन् । उनले राज्यमा शान्ति सुरक्षा कायम गर्नुपर्ने बताए । मुख्यमन्त्रीको कार्यालयले जारी गरेको आदेशमा भनिएको छ, ‘प्रदेशमा शान्ति कायम होस्, यसमा प्रदेशवासीले पनि सहयोग गरिरहेका छन्, सर्वसाधारणलाई कुनै किसिमको अप्ठ्यारोमा नपरोस् भन्ने कुरामा ध्यान दिनुस् ।’ मुख्यमन्त्री योगी आदित्यनाथले कानूनसँग खेलवाड नगर्न सबैलाई चेतावनी पनि दिएका छन् ।