मोदी सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की

२०८० बैशाख १० गते, आईतवार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको जनाइएको छ । भोलि प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी (बिजेपी)को प्रदेश कार्यालयलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन् । पत्र प्रेषकको नाम र अन्य विवरण पनि त्यसमा भएकाले सुरक्षाकर्मीले निजलाई पहिचान गरिएको बताएका छन् । विपक्षीहरूले आफूलाई फसाउन आफ्नो नाम प्रयोग गरेका दाबी गर्दै ती आरोपित व्यक्तिले आफूले कुनै पत्र नलेखेको दोहोर्‍याएका छन् । केन्द्रीय अनुसन्धान निकायका अधिकारीले अनुसन्धान जारी राखेका तथा थप विवरण खोजिरहेका छन् ।
बिजेपीका राज्यप्रमुख के सुरेन्द्रनले प्रधानमन्त्री मोदीका निर्धारित सबै कार्यक्रम हुने बताएका छन् । उहाँ सोमबार कोच्चीका कार्यक्रममा सहभागी भएर भोलिपल्ट तिरुवनन्तपुरममा वन्दे भारत एक्सप्रेसको उद्घाटन गर्ने र जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राज्यप्रमुख सुरेन्द्रनले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]