आरक्षणविरुद्ध आन्दोलन :विद्यालय र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौँ। बंगलादेशमा सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरुद्ध आन्दोलन चर्किएको छ । शेख हसिना नेतृत्वको सरकारले सन् २०१८ मा आरक्षण प्रणाली खारेज गरेको थियो । तर गत जुनमा त्यहाँको अदालतले आरक्षण कोटालाई पुनस्र्थापनाको आदेश दिएपछि जुलाई १ तारिखदेखि विद्यार्थीहरु फेरि आन्दोलित भएका छन् । आन्दोलन चर्किएसँगै देशभरका सबै विद्यालय र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
बंगलादेशको राजधानी ढाकासहित विभिन्न स्थानका विद्यार्थीहरु सडक आन्दोलनमा उत्रिएका छन् । बंगलादेशका विभिन्न विश्वविद्यालयका हजारौं विद्यार्थीहरुले ठाउँ ठाउँमा ¥यालीसहित सडक आन्दोलन चर्काएका छन् । सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षण खारेजीको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले विरोध प्रर्दशन चर्काएपछि बंगलादेश अशान्त बनेको छ । आन्दोलनका क्रममा झडपमा परी छ जनाको मृत्यु भएको छ । जसमा ३ विद्यार्थीको ज्यान गएको छ । साथै सयौँ प्रदर्शनकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आन्दोलन हिंसात्मक बन्दै गएपछि देशभरका सबै स्कुल र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको हो ।
आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिगबीच देशका विभिन्न स्थानमा हिंसात्मक झडप भइरहेका छन् । जसले गर्दा प्रधानमन्त्री हसिनामाथि नै दबाब बढ्दै गएको छ । चौतर्फी दबाब बढिरहेको अवस्थामा सत्तारुढ दलबाटै प्रतिकार हुनुले आन्दोलनले हिंसात्मक रुप लिएको टिप्पणी भइरहेको छ । यसैबीच प्रदर्शन चर्किदै गएको अवस्थामा ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सचेत गराएको छ । दूतावासले बुधबार सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको हो ।