जापानमा ‘नेपाल फेस्टिवल’ शुरु

२०८१ मंसिर १५ गते, शनिबार

काठमाडौँ । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवल मार्फत नेपालमा पर्यटन प्रर्वद्धन’ भन्ने मूल नाराका साथ आज देखि जापानमा १४ औँ ‘नेपाल फेस्टिवल’ शुरु भएको छ । गैरआवसीय नेपाली सङ्घ (एन.आर.एन.ए.) जापान, जापानका लागि नेपाली राजदुतावास र नेपाल आदिवासी जनजाति महासङ्घ जापानको संयुक्त आयोजनामा भोलि सम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने यस महोत्सव बाट नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन सहयोग पुग्ने बताइएको छ ।
जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिवलको आयोजना गरिएको एन.आर.एन.ए. जापानले जनाएको छ । फेस्टिवलका आर्थिक सङ्कलन अभियान, स्टल बुकिङ, स्वयम्सेवक टिम र विभिन्न वेशभूषा, मौलिक कला संस्कृति, नेपाली संस्कृतिका प्रतिभा देखाउने एन.आर.एन.ए. जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नवीन निउरेले जानकारी दिए ।
धार्मिक र सामाजिक सद्भाव सहितको नेपाल हाउस निर्माण गराउने मुख्य योजना सहित यस वर्षको ‘नेपाल फेस्टिवल’ गरिन लागेको एन.आर.एन.ए. जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले बताए । महोत्सवमा नेपाली खानाको र अन्य व्यापारिक प्रयोजनका गरी ४० वटा स्टल राखिएका छन् । महोत्सवमा नेपाली मौलिक कला संस्कृति, सामाजिक रीतिरिवाज, पर्यटकीय स्थललगायत समेटिएको विभिन्न वृत्तचित्र तथा फोटो प्रदर्शनी गरिने एन.आर.एन.ए. प्रवक्ता खगराज गौतमले जानकारी दिए ।
एन.आर.एन. जापानले सन् २०१२ देखि जापानमा यस किसिमको महोत्सव गर्दै आएको छ । -रासस

प्रतिक्रियाहरु

[anycomment]