कुम्भमेला सुरु हुँदै

२०८१ पुष २८ गते, आईतवार


काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भोलि (सोमबार)बाट कुम्भमेला सुरु हुँदैछ। फेब्रुअरी २६ सम्म चल्ने कुम्भ मेलामा करोडौं भक्तजन पुग्ने अनुमान छ। नेपालबाट पनि हजारौंको संख्यामा मानिस कुम्भमेला भर्न जाँदैछन्।
उत्तर प्रदेश सरकारले कुम्भमेलामा ४० करोड मानिस संगम स्नानका लागि प्रयागराज आउने अनुमान गरेको छ। सन् २०१९ मा भएको अर्धकुम्भ मेलामा २४ करोड मानिस प्रयागराज पुगेको प्रदेश सरकारको तथ्यांकले देखाउँछ।
८३ प्रतिशत मानिस सडक मार्गबाट र १५ प्रतिशत मानिस रेलबाट प्रयागराज पुग्ने अनुमान छ। भक्तजनहरुको लागि भनेर सहरमा ५०० सटल बस चलाइनेछ। प्रयागराजमा प्रवेश गर्न ७ वटा प्रवेशविन्दु छुट्याइएको छ। बसहरुलाई सहर प्रवेश गर्नुभन्दा १० किलोमिटर अगाडि नै रोकिनेछ। प्रशासनले जिल्लाभर १०२ वटा पार्किङस्थल बनाएका छन्। भक्तजनको संख्यालाई मध्यनजर गर्दै पानी, शौचालय, प्राथमिक उपचार केन्द्र लगायतको व्यवस्था पनि गरिँदैछ। मेलाकै लागि भने ३ हजार बढी स्पेशल रेलको व्यवस्था गरिएको छ। यी रेलहरुले १३ हजार पटक यात्रु ओसारपसार गर्ने जनाइएको छ। जिल्लामा प्रयागराजसँगै अन्य ६ सब-स्टेशन छन्। यस्तै, पहिलाभन्दा विमानको संख्या पनि बढाइएको छ। २५ सहरबाट प्रगागराजका लागि विमान सेवा संचालन हुनेछ।
महाकुम्भमा आउनेहरुका लागि बस्नका लागि नि:शुल्क र स-शुल्क व्यवस्था गरिएको छ। एकपटकमा १० लाख मानिस बस्ने गरि विभिन्न व्यवस्था गरिएको प्रशासनले जनाएको छ। लग्जरी व्यवस्था चाहनेहरु संगमको किनारमा व्यवस्था छ। त्यहाँ डोम सिटी बनाइएको छ। जसको भाडा प्रतिदिन सवा १ लाख नेपाल रुपैयाँदेखि करिब दुई लाख रुपैयाँसम्म छ। यससँगै जिल्लाका विभिन्न स्थानमा करिब दुई हजार टेन्ट क्याम्प बनाइएको छ। त्यहाँ ५ हजार नेपाली रुपैयाँदेखि करिब ५० हजार रुपैयाँसम्मका टेन्टको व्यवस्था छ। यसका लागि पहिला नै बुकिङ गर्नुपर्ने हुन्छ। सहरमा ४२ वटा लग्जरी होटल छन्। यस्तै, मेला क्षेत्रमा करिब एक सय आश्रयस्थल रहेका छन्। प्रत्येक आश्रयस्थलमा २५० बेडको व्यवस्था गरिएको छ। मेलामा आउनेहरुका लागि एक लाख सामान्य टेन्ट, दुई हजार लग्जरी टेन्टको व्यस्वथा छ भने रेलवे क्षेत्र वरिपरि पनि बस्न मिल्ने गरि व्यवस्था गरिएको छ। रेल स्टेसन वरिपरि करिब ५० होटल छन्।
भक्तजनको सुविधा लक्षित गरेर महाकुम्भ मेला २०२५ एप सार्वजनिक गरिएको छ। जसबाट कहाँ के के व्यवस्था छ भनेर जान्न सकिनेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु