कुम्भ मेलामा भागदौड : १० जनाको मृत्यु ,कयौं व्यक्ति हताहत

काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने कयौं व्यक्ति हताहत भएको भारतीय मिडियाहरुले जनाएका छन् । प्रयागराज सिटीका एक डाक्टरले भने समाचार एजेन्सी एएफपीलाई नाम उल्लेख नगर्ने सर्तमा १५ जनाको मृत्यु भएको बताएका छन् ।
भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ । उसले आफ्नो सम्वाददातालाई उद्धृत गर्दै स्वरुपरानी अस्पतालमा पोष्टमार्टमका लागि १४ शव ल्याइसकिएको उल्लेख गरेको छ । मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन । यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ ।
१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।