अमेरिकाले निष्कासन गर्ने आप्रवासीमा १ हजार ३६५ नेपाली

काठमाडौँ । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पद सम्हालेसँगै अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेलगत्तै अमेरिकाले अवैध आप्रवासीलाई घर फर्काउनका लागि सूची सार्वजनिक गरेको छ । यसैक्रममा अमेरिकी अध्यागमन कार्यालयले आफ्नो देशमा बसिरहेका विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक गरेको छ ।
‘नोभेम्बर २४, २०२४ सम्म, १४ लाख ४५ हजार पाँचसय ४९ जना गैरनागरिकहरू भेटिए । जसलाई अमेरिकाबाट हटाउनुपर्नेछ’, अमेरिकी अध्यागमन कार्यालयलाई उदृत गर्दै विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अमेरिकाबाट निष्कासित हुनेमा नेपालीहरू पनि छन् । त्यहाँस्थित अध्यागमन कार्यालयका अनुसार अमेरिकाबाट निष्काशनमा पर्ने नेपालीको संख्या एक हजार ३६५ जना छन् ।
अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।
होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।