अवैधानिक रुपमा अमेरिकामा बसेका २६ नेपाली डिपोर्ट

२०८१ फाल्गुन १३ गते, मंगलवार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेको ३६ दिनको अवधिमा २६ जना नेपालीलाई डिपोर्ट गरेको छ । डिपोर्ट भएका नेपालीहरू दाङ, रुकुम, सल्यान, दैलेख, प्युठान, बाग्लुङ र सुनसरीका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सिता परियारका अनुसार २० जनवरीदेखि २५ फेब्रुअरीको बीचमा २६ जना नेपालीहरुलाई अमेरिकाले स्वदेश फर्काइसकेको छ । सोमबार मात्र अमेरिकाबाट डिपोर्ट भएर एक जना नेपाली आएको उनले बताइन् ।
डिपोर्ट गरेकाहरूसँग अमेरिकी अध्यागमनले एउटा कागज पठाउने गरेको छ जहाँ उनीहरूलाई डिपोर्ट गर्नुको कारण उल्लेख गरिएको हुन्छ । अमेरिकाको अध्यागमन कार्यालयले पठाएको पत्रमा ‘विना भिसा’ यात्रा गरेको र ‘गलत नियत’का साथ बसोबास गरेकाले उनीहरुलाई फर्काइएको व्यहोरा उल्लेख छ ।
ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।
ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ । अहिले विभिन्न देशका नागरिकहरुलाई विमान नै चढाएर फर्काइरहेको छ । भारत, मेक्सिको लगायत देशका नागरिकहरुलाई हत्कडीसमेत लगाएर फर्काइएका समाचार सार्वजनिक भएका थिए ।
संगठित मानव तस्करको आडमा नेपालीहरु अवैध बाटोबाट अमेरिका जाने गरेका छन् । तर अवैध रुपमा अमेरिका पुग्ने नेपालीहरुको नेपालमा रेकर्ड छैन । अमेरिकाबाट डिपोर्ट हुने नेपालीको रेकर्ड भने अध्यागमन कार्यालयले राख्ने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु