प्रवासी नेपाल जनसमाज भारतद्वारा नेपालमा भइ रहेका जनविरोधी गतिविधिलाई निस्तेज पार्न आग्रह

काठमाडौँ । प्रवासी नेपाल जनसमाज भारतले नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री केपी ओलीलाई नेपालमा पछिल्लो समय भइ रहेको जनविरोधी गतिविधिलाई निस्तेज पार्न आग्रह गरेको छ । प्रवासी नेपाल जनसमाज भारतका अध्यक्ष दामोदर पंगेनीसहितको टोलीले नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री केपी ओलीलाई प्रतिगामी र यथास्थितिवादका विरुद्ध ध्यानाकर्षण पत्र बुझाउदै सो आग्रा गरेको हो। ..
प्रवासी नेपाल जनसमाज भारतका अध्यक्ष दामोदर पंगेनीसहितको टोलीले राजदुत श्री डा.शंकर प्रसाद शर्मामार्फत प्रधानमन्त्री केपी ओलीलाई पठाएको ज्ञापन पत्रमा भनिएको छ – ‘नेपाली जनताले दशकौ लामो त्याग, तपस्या र महान बलीदानका उच्च कृतिमान कायम गरि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरिएको व्यहोरा सर्वविदितै छ । जहानीया र वंशवादको निरङ्कुश शासनका विरुद्ध संचालित २००७, २०२८, २०३५–२०३६, २०४६, २०५२ साल देखिको महान् जनयुद्ध र २०६२–६३ को एतिहासिक जनाअन्दोलनमा रोजगारीका लागि भारतमा छरिएर रहेका देशभक्त श्रमजीवी नेपाली जनाताले वैचारिक, राजनीतिक, आर्थिक र भौतिक रुपमा अतुलनीय योगदान पुर्याएको कुरा इतिहास साक्षी छ ।
आन्दोलनको सफलता पश्चात् सत्ताशीन हुन पुगेका राजनीतिक दल र त्यसका मूख्य नेतृत्वमा रहेका अदुर्दर्शीता, वैचारिक विचलन, अपारदर्शीता तथा अनियमितता द्वारा आय आर्जनमा लाग्दा राजनीतिक दल र नेतृत्व प्रती आमजनतामा परेको अविश्वास र आक्रोशलाई आधार बनाएर आन्दोलनबाट फ्याकिएको पश्चगामी तत्वले पटक–पटक प्रजातान्त्रिक अधिकार खोस्दै आयो र अहिले पनि संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा हावी हुन पुगेको दलाल पुँजीवादले गरेका भ्रष्टाचार, तष्करी, कमिशनखोरी, हरेक क्षेत्रमा दलाली र माफियाकरणबाट आक्रोशित जनताको मनोभावनामा खेलेर धर्मको आडमा पश्चगामी निरङ्कुस तत्वले टाउको उठाउन खोजेका घटनाक्रमले हामीलाई गम्भीर मात्र होइन आक्रोशित पनि बनाएकोछ ।
आफ्नो देशलाई संसार कै उत्कृष्ट प्रजातान्त्रिक मुलुक बताउने भारतका सत्ताधारीहरुका नजिक मानिने संचार माध्यमहरुले समेत हजारौं नेपाली जनताले बलिदानको कोटा चुक्ता गरेर प्राप्त गणतान्त्रिक व्यवस्थाका विरुद्ध प्रतिगामी तत्वले मच्चाएका उदण्ड्ता र आततायी घटनाहरुलाई महिमामण्डित गरिरहेको देख्दा हामीलाई अचम्मित मात्र होइन अत्यन्त गम्भीर पनि बनाएको छ र कैयौ आसङ्काहरु पनि जन्मेकाछन हाम्रो देश नेपाल स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न मुलुक हो । नेपालको भाग्य र भविष्यको निधार्ण गर्न नेपाली जनता आफै सक्षम छन् । हाम्रो देशको अन्तरिक मामिलामा कुनै पनि वाह्य हस्तक्षेप हामीलाई स्वीकार्य हुनु हुदैन र छैन ।
हाम्रो मातृभूमि नेपाल राजनैतिक, आर्थिक, सामाजिक, सास्कृतिक, शैक्षिक तथा वेरोजगारी लगायतका विकराल समस्याहरुबाट गुज्रिरहेकोछ । समग्रमा भन्नू पर्दा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु अत्यन्त काहाली लाग्दाछन । जनतामा घोर निराशा छाएको छ । यी सबै दलाल पुँजीवादले निम्त्याएका समस्या हुन । गणतन्त्रलाई वास्तविक जनताको गणतन्त्र बन्न नदिनु र दलाल पूँजीवादले कब्जा गर्नु त्यसको प्रमुख कारण हो । यद्यपि गणतन्त्रको विकल्प पश्चगामी निरङ्कुस व्यवस्था हुनै सक्दैन ।
आजको संकटको निकास पश्चगमन त हुनै सक्दैन र पश्चगामी, वंशवादमा आधारित निरङ्कुश व्यवस्थाको तुलनामा प्रगतिशील भएपनि यथास्थितिवादले पनि वर्तमान संकटको निकास दिन सक्दैन । वर्तमान संकट्को वैज्ञानिक र वस्तुवादी निकास राष्ट्रिय स्वाधीनता, गाँस, बास कपास, शिक्षा, स्वास्थ्य, रोजगारको सुनिश्चितता सहित राष्ट्रिय पुँजीको विकास गर्ने अन्तर्वस्तु सहितको “नेपाली विशेषताको समाजवाद” नै हो र हुनुपर्दछ भन्ने हाम्रो मूलमान्यता रहेको व्यहोरा स्मरण गराउन चाहन्छौ । आवस्यक परे मातृभूमिको रक्षा र नेपाली जनताको पूर्ण मुक्तिका निम्ति विगतमा जस्तै इतिहासले माग गरेको भूमिका निर्वाह गर्न प्रतिवद्ध्ता जाहेर गर्दछौ ।
हामी प्रवासी नेपालीहरूलाई पश्चगामी निकास कुनैपनि हालतमा स्वीकार छैन । पश्चगामीहरुको मनोवल बढाउने देशभित्र र बाहिर हुने अवाञ्छित र जनविरोधी गतिविधिलाई निश्तेज पार्न र अग्रगामी निकासका लागि भारत स्थित नेपाली राजदुतावासका महामहिम राजदुत मार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदछौ ।’
