पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन

काठमाडौँ । भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले सो निर्देशन दिएको हो । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठक समेत बोलाउने निर्णय समेत भारत सरकारले गरेको छ ।
पर्यटकीय क्षेत्र पहलगाममा घुम्न गएका पर्यटकहरुमाथि गोली बर्साउँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो । २० जनाभन्दा बढी घाइते छन् ।
भारतको गुप्तचर निकायका अनुसार आक्रमणमा लस्कर ए तोयबाको प्रोक्सी विङ्ग द रजिस्टेन्स फ्रन्ट (टीआरएफ)को हात छ । पहलगाम आक्रमणमा संलग्न आतंकवादी भनेर भारतले तीन जनाको स्केच जारी गरेको छ । उनीहरुको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भनिएको छ ।
घटनाको अनुसन्धानका लागि भारत सरकारको राष्ट्रिय अनुसन्धान एजेन्सीको टोली पहलगाम पुगेको छ । सोधपुछका लागि दर्जनौं व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ । सो घटनाका कारण आज जम्मुकश्मीर बन्द छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको भर्त्सना गर्दै आतंकवादीहरुलाई नछाड्ने चेतावनी दिएका छन् । नेपाल सरकारले पनि आतंकवादविरुद्ध भारतलाई साथ दिने प्रतिबद्धता जनाएको छ ।
भारत सरकारले गरेका पाँच ठूला निर्णय :
१.भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता खारेज
२.अटारी सीमानाका बन्द । भारत आएका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र स्वदेश फर्किन निर्देशन ।
३. पाकिस्तानी नागरिकको भिसा रद्द ।
४.नयाँदिल्लीस्थित पाकिस्तान हाई कमिसनमा तैनाथ पाकिस्तानी डिफेन्स एडभाइजर्सलाई भारत छाड्न एक हप्ताको समय ।
५.हाई कमिसनमा तैनाथ कर्मचारीको संख्या ५५ बाट घटाएर ३० कायम गर्ने ।
आतंकवादी हमलामा पाकिस्तान संरक्षित आतंकवादीको हात रहेको भन्दै भारतले यी निर्णयहरु गरेको हो । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने पहलगाम आक्रमणमा पाकिस्तानको कुनै पनि संलग्नता नरहेको बताएका छन् ।