अमेरिकाद्वारा थप दुई नेपालीलाई निष्कासन
 
                
काठमाडौँ । अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। अमेरिकी अध्यागमनले गैरकानुनी तरिकाले बस्दै आएका उनीहरूलाई निष्कासन गरेको हो । निष्कासन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली रहेका छन्। उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको हो। स्रोतका अनुसार वलीलाई बुधबार र केसीलाई गत २१ गते काठमाडौं फर्काइएको थियो। अघिल्लो हप्तामात्रै तीन जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेसँगै गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन्। अमेरिकाले यसअघि पनि पटक-पटक नेपालीहरूलाई निष्कासन गरी नेपाल फर्काएको छ। केहीलाई त चार्टर्ड विमानमार्फत पनि नेपाल फर्काइएको छ।
यसैबीच, अमेरिकी सरकारले अध्यागमनसम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गर्ने निर्णय गरेपछि १२ हजार ७ सय नेपालीको अमेरिका बसाइ अन्त्य हुने भएको छ । नेपालीलाई अमेरिकी सरकारले उपलब्ध गराएको टीपीएस २०८२ साउन २० (२०२५ अगस्ट ५) बाट खारेज हुने निर्णय युएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले २०८२ जेठ २३ (२०२५ जुन ६) मा गरेको हो । डीएचएसको निर्णयपछि साउन २० बाट १२ हजार ७ सय नेपालीको कानुनी रूपमा काम गर्ने मान्यता र अमेरिका बसाइसमेत अन्त्य हुने भएको हो । हाल अमेरिकामा १४ हजार ५ सय नेपाली टीपीएसवाहक छन् । तीमध्ये १२ हजार ७ सयको टीपीएस खारेज गरिएको नेसनल इमिग्रेसन फोरम को सूचीमा उल्लेख गरिएको छ ।

 
                 
                             
                             
                         
                         
                        