एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

काठमाडौँ । गत जुन १२ मा भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुर्घटना हुँदा विमानमा सवार २४१ जनासहित कुल २६० जनाको मृत्यु भएको थियो। प्रारम्भिक प्रतिवेदनले विमानका दुवै इन्जिन लगभग एकैसाथ रन अवस्थाबाट कट(अफ (बन्द) अवस्थामा पुगेको बताएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एयर इन्डिया विमान दुर्घटना भएको समयमा कोपाइलटले चलाएको र मूल क्याप्टेनले मनिटरिङ गरिरहेको रिपोर्टबाट देखिएको छ। रिपोर्ट अनुसार फ्युल कन्ट्रोल स्विच ‘कट अफ’ पोजिसनमा रहेको प्रारम्भिक रिपोर्टमा देखिएको छ। ककपिटमा रेकर्ड भएको स्वरको टुक्राले यो अनुमान भएको हो। किन उसले कट अफ गरेको ?’ रेकर्ड भएको आवाजमा भनिएको छ।
विमानको इन्जिन ‘कटअफ’ हुनुको अर्थ इन्जिनमा इन्धनको आपूर्ति लगभग तत्कालै बन्द गर्नु हो। सामान्यतया यो प्रक्रिया विमान गन्तव्यमा पुगेपछि इन्जिनहरू बन्द गर्दा प्रयोग गरिन्छ। आपत्कालीन अवस्थामा पनि यस्तो हुन सक्छ, तर प्रारम्भिक प्रतिवेदनले विमानमा कुनै त्यस्तो आपत्कालीन घटना भएको सङ्केत गरेको छैन।
रिपोर्टमा उल्लेख भएअनुसार विमानले पूर्ण गति लिएपछि एक सेकेन्डको अन्तरमा इन्जिन १ र इन्जिन २ को स्विच रनबाट कटअफ पोजिसनमा गएको थियो। त्यसपछि पाइलटको आवाज ककपिटमा रेकर्ड भएको हो। चार सेकेन्डको फरकमा दुवै इन्जिनको स्विच कट अफबाट रनमा सरेको छ । – एजेन्सी