अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाबाट थप १९ जना नेपाली नागरिक डिपोर्ट भएर नेपाल फर्किएका छन्। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, २५ जेठमा चार्टर्ड विमानमार्फत ३७ जना नेपाली डिपोर्ट भएर फर्किएपछि हालसम्म नियमित उडानमार्फत एक/दुई जनाको दरले १९ जना डिपोर्ट भएर आएका छन्। रिजाल भन्छन्, “त्यसपटक अमेरिकाले विशेष चार्टर्ड विमानमार्फत नेपालीहरूलाई पठाएको थियो। अहिले भने नियमित उडानमार्फत उनीहरू फर्किरहेका छन्।”
डिपोर्ट भएर फर्किएका अधिकांश नेपाली अवैध रूपमा “तल्लो बाटो” हुँदै अमेरिका प्रवेश गर्न खोजेका थिए। डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि सुरु भएको कडा अध्यागमन नीतिका कारण सामान्य कसुरमा पक्राउ परेकाहरू समेत डिपोर्ट हुने गरेका छन्।
अध्यागमन विभागका अनुसार, ट्रम्पको कार्यकालपछि हालसम्म अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १९७ पुगेको छ।
डिपोर्ट भएर आएका ३७ जनासँग प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विमानस्थलमै सोधपुछ गरेको थियो। उद्देश्य, मानव तस्करीमा संलग्न गिरोहबारे सूचना संकलन गर्नु थियो। तर ती कसैबाट पनि उपयोगी जानकारी प्राप्त हुन सकेन। बरु उनीहरू भोलिपल्ट जानकारी दिन्छौँ भन्दै सम्पर्कविहीन भए।
ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनी भन्छन्, “मानव तस्करीमा संलग्न गिरोहबारे विस्तृत अनुसन्धान गर्न सोधपुछ गरिएको हो।”
ब्यूरोका एक अनुसन्धान अधिकारीका अनुसार, तल्लो बाटो हुँदै अमेरिका जान चाहनेलाई प्रायः गाउँघरका चिनजानका व्यक्तिहरूले प्रलोभनमा पारेर पठाउने गर्छन्। त्यही कारणले पीडितहरूले उजुरी गर्न नमान्ने गरेका छन्। प्रहरीका अनुसार, अवैध बाटोबाट अमेरिका पुग्नेहरूले बिचौलियालाई ५० लाखदेखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए। उनीहरूलाई मध्यपूर्व, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिकासम्म पुर्याइएको थियो।