भारतीय प्रहरीद्वारा ७ नेपाली किशोरीको उद्धार

काठमाडौँ । भारतीय प्रहरीले वैदेशिक रोजगारीको बहानामा भारत पु–याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पु–याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए ।
उनका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ । उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाको रहेको जनाइएको छ । किशोरीलाई भारत पु–याउने अभियुक्तमध्ये एक जना भारतको दार्जीलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् भने अर्का सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन् ।
अभियुक्तले वैदेशिक रोजगारका लागि हङ्कङ लैजाने भनेर उनीहरुलाई नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै सीमावर्ती भारतीय पानीटङ्की नाका पु–याएका थिए । किशोरीहरुको आधार कार्डलगायत नक्कली कागजात बनाउन सिलिगुढी लैजान लागेका बेला भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
नेपाली किशोरीलाई नेपाल ल्याउन माइती नेपालका संयोजक घिमिरेसहितको टोली शुक्रबार नै पानीटङ्की पुगेको थियो । तर, कानुनी प्रक्रिया मिलाउनुपर्ने कारण देखाएर भारतीय प्रहरीले उनीहरुलाई खोरीबारी प्रहरी थानामै राखेको उनले जानकारी दिए ।