भारत उत्तराखण्डमा आएको भीषण बाढीमा हराइरहेकाहरुको खोजी कार्य तिब्र

२०८२ श्रावण २२ गते, बुधबार

काठमाडौँ । भारत उत्तराखण्डमा आएको भीषण बाढीमा हराइरहेकाहरुको खोजी कार्य तिब्र पारिएको छ । उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा हिजो दिउँसो बाढी आउँदा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी वेपत्ता छन् । प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ।
भीषण वर्षापछि खीरगंगा नदीमा आएको बाढीले गंगोत्रीमार्गमा पर्ने धराली बजार तहसनहस बनाएको छ । नदी किनाराका बस्तीमा ठूलो क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा शहरको मध्य भागबाट बग्ने नदीमा अचानक ठूलो बाढी आएको र नदी किनारका घर र पसलहरु बगाएको देखिन्छ । दिउँसो साढे १ बजे आएको बाढीले २० भन्दा बढी होटल तथा होम स्टे र सैनिक क्याम्प पनि बगाएको छ । उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ । भारतीय सेनाका १ सय ५० भन्दा बढी सुरक्षाकर्मी र स्थानीय प्रशासनको टोली उद्दारमा खटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लेदोसहितको बाढीका कारण उद्दारमा समेत कठिनाइ भइरहेको जनाइएको छ ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै राहत र उद्दारमा कुनै कसर बाँकी नराख्न प्रदेश सरकारलाई निर्देशन दिएका छन भने विपक्षी दल भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि राहत र उद्दारलाई तीब्र पार्न सरकारसमक्ष माग गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु