भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदै

२०८२ श्रावण २३ गते, बिहीबार


काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन्। उनी आगामी ३१ अगस्ट र १ सेप्टेम्बरमा चीनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने भएका हुन्।
मोदीको प्रधानमन्त्री बनेपछि यो छैटौँ चीन यात्रा हुनेछ, जुन विगत ७० वर्षमा कुनै भारतीय प्रधानमन्त्रीबाट चीनमा भएको सबैभन्दा धेरै भ्रमण हो। उनी अन्तिम पटक सन् २०१८ मा चीन गएका थिए।
यसपटक चीन जानुअघि ३० अगस्टमा प्रधानमन्त्री मोदी जापान पुग्ने कार्यक्रम छ, जहाँ उनी भारत-जापान शिखर सम्मेलनमा सहभागी हुनेछन्।
प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सन् २०२४ को अक्टोबरमा रूसको कजान शहरमा आयोजित ब्रिक्स शिखर सम्मेलनका भेटवार्ता भएको थियो।
करिब ५० मिनेटको द्विपक्षीय छलफलमा प्रधानमन्त्री मोदीले ‘सीमामा शान्ति र स्थायित्व कायम गर्नु भारतको प्राथमिकता’भएको बताएका थिए। साथै, आपसी विश्वास, सम्मान र संवेदनशीलता नै सम्बन्धको आधार हुनुपर्नेमा जोड दिएका थिए।
प्रधानमन्त्री मोदीको भ्रमणको पूर्व तयारीस्वरूप परराष्ट्रमन्त्री एस. जयशंकरले केही हप्ताअघि चीन गएका थिए। त्यहाँ उनले राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्री वाङ यीसँग भेटघाट गरी जलस्रोत तथ्यांक साझेदारी, व्यापार प्रतिबन्ध, सीमामा तनाव न्यूनीकरण र आतंकवादविरुद्धको कडा नीति लगायतबारे छलफल गरेका थिए। समाचार अनुसार यस भेटले मोदीको चीन भ्रमणको पूर्वाधार तयार गरेको थियो ।
प्रधानमन्त्री मोदीको चीन भ्रमण यस्तो समयमा हुन लागेको छ, जब अमेरिका र चीनबीचको व्यापारिक तनाव चुलिएको छ । अर्कातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। भारतले रूसबाट तेल र हतियार खरिद नरोकेकाले ‘पेनाल्टी’स्वरूप ट्यारिफ लगाउन लागिएको ट्रम्पले बताएका थिए ।
भारत अहिलेको अवस्थामा चीनपछि रुसी तेलको दोस्रो सबैभन्दा ठूलो खरिदकर्ता हो। भारतले हरेक दिन १७.८ लाख ब्यारेल कच्चा तेल रूसबाट आयात गरिरहेको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अन्तिम पटक सन् २०१९ मा भारत भ्रमणमा आएका थिए। त्यसबेला तमिलनाडुको महाबलीपुरममा प्रधानमन्त्री मोदीसँग उनले भेट गरेका थिए। त्यस भेटले भारत–चीन सम्बन्ध सुधार गर्न र सीमाका मतभेद व्यवस्थापनतर्फ सकारात्मक संकेत दिएको थियो।

प्रतिक्रियाहरु

[anycomment]