भारतको उत्तराखण्ड बाढीमा २६ नेपाली सम्पर्कविहीन

२०८२ श्रावण २८ गते, मंगलवार


काठमाडौँ । भारतको उत्तराखण्डमा अघिल्लो साता आएको विनाशकारी बाढीमा २६ जना नेपाली बेपत्ता भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना हराइरहेका छन् । धराली क्षेत्रमा हराएकामध्ये जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया छन् ।
यस्तै, दिपक मगर, सुरज राना, मानबहादुर, नीम बहादुर, रवि सिंह र रामबहादुर पनि बेपत्ता छन् । पौडीगढवालमा हराएकाहरूमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक रहेका छन् ।
अघिल्लो साता आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गस्थित धराली बजारलाई पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । बाढीले स्थानीय होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरू समेत बगाएको अनुमान गरिएको छ । धराली क्षेत्रमा फोन र विद्युत सेवा पुनःसञ्चालन भएपछि खोजी अभियान जारी छ ।

प्रतिक्रियाहरु

[anycomment]