विपिनको शवको फरेन्सिक जाँच

काठमाडौँ । हमासले मारिएका नेपाली विद्यार्थी विपिन जोशीसहित ४ जनाकाे शव साेमबार हस्तान्तरण गरेकाे छ। हमासको सशस्त्र समूह कसम ब्रिगेडले साेमबार जोशीसहित ४ जना कैदीबन्दीको शव रेडक्रसका अधिकारीहरुलाई हस्तान्तरण गरेकाे जनाएकाे हाे। हमासको उक्त सशस्त्र समूहले एक विज्ञप्ति जारी गर्दै विपिन मृतक बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी र डेनियल पेरेजको रूपमा गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ।
हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई मुक्त गर्दै सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो। हमास समूहले त्यसपछि मात्र बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाउँदै आएको थियो। हमासले सोमबार नेपालका विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ।
सन् २०२३ अक्टोबर ७ का दिन इजरायलको दक्षिण क्षेत्रमा पर्ने किबुज एलुमिममा हमासको आक्रमणपछि बन्दी बनाइएका २३ वर्षीय विपिन जोशी त्यहाँ आक्रमण हुनुभन्दा करिब एक महिनाअघि मात्र सिक र कमाउ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययन गर्न त्यहाँ पुगेका थिए।
यसअघि इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले विपिन जीवित रहेको प्रमाण फेला नपरेको जानकारी इजरायली सुरक्षा निकायले आफूहरू र विपिनका परिवारका सदस्यलाई गराएको बताएका थिए।
२०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । हमास समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए । सँगै रहेका घाइते साथीलाई जोगाउन लागेका विपिनलाई भने हमासले बन्दी बनाएर लगेको भिडियो फुटेजमा देखिएको थियो।
नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि जोशी जीवित नरहेको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालका लेखेका छन्, “विपीन जोशी अब हामीमाझ रहनुभएन । दुई वर्षको आशा अब समाप्त भएको छ ।”
उनको शव फरेन्सिक जाँचका लागि तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्याइएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।