म्यान्मारबाट १४ नेपालीको उद्धार
काठमाडौँ । थाइल्याण्डको बैंककस्थित नेपाली दुताबासका अनुसार म्यान्मारबाट १४ नेपालीको उद्धार गरिएको छ । दुताबासले अवैधरुपमा म्यान्मार पुगेर विभिन्न अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा काममा लगाइएका १४ नेपालीको उद्धार गरेर बुधबार काठमाडौँ पठाइएको जनाएको छ । दुताबासले म्यानमारमा रहेका थप ११ जना नेपालीहरूलाई यथासिघ्र नेपाल फर्काउने गरी म्यानमार तथा थाईल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ ।
म्यानमारको म्यावडीमा रहेका विभिन्न स्क्यामिङ्ग केन्द्रहरूबाट १९ अक्टोबर २०२५ पश्चात ३८ जना नेपालीहरू समेत विभिन्न २८ मुलुकका २००० भन्दा बढी विदेशीहरू थाईल्याण्ड प्रवेश गरेका थिए । उक्त ३८ जना नेपालीहरूलाई समेत नेपाल फर्काउनको लागि थाईल्याण्डको सम्बन्धित निकायसँग समन्वय भईरहेको दुताबासले जानकारी दिएको छ ।
सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
