स्पेनमा श्रम शोषणमा परेका मध्ये अधिकांश नेपाली

२०८२ मंसिर २१ गते, शनिबार


काठमाडौँ । स्पेन प्रहरीले आप्रवासीलाई शोषण गर्ने गिरोहमा संलग्न आरोपमा ११ जना पक्राउ परेको र , थप दुई जनाको खोजी भइरहेको जनाएको छ। प्रहरीले आप्रवासी कामदारलाई दाससरह काम लगाउने एक संगठित गिरोहका अड्डामा छापा मार्दै ३२२ जनाको उद्धार गरेको छ। श्रम शोषणमा परेकाहरुमा अधिकांश नेपाली रहेको प्रहरीले पुष्टि गरेको युरोपेली सञ्चारमाध्यमहरुले जनाएका छन्।
प्रहरीका अनुसार उद्धार गरिएका पीडितहरुमा धेरैजसो पर्यटक भिसामा स्पेन प्रवेश गरेकाहरु रहेको खुलेको छ। त्यहाँ पुगेपछि गिरोहले उनीहरूको कागजात खोसेर खेतबारी र कृषि फार्ममा अत्यधिक श्रम गराउँथ्यो। कामदारलाई दिनमा १२ घण्टाभन्दा बढी काम गराइने, कतिपयलाई ज्याला नदिने, दिए पनि निकै नै कम दिने गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
उद्धार गरिएका कामदारहरूलाई अल्बेसेट क्षेत्रका संकुचित भूगर्भ कक्ष तथा जीर्ण भवनमा राखिएको थियो। त्यहाँ खानेपानी, शौचालय, हावा–वातावरणजस्ता न्यूनतम सुविधा समेत पर्याप्त थिएनन्। प्रहरीले सार्वजनिक गरेको दृश्यमा एकै कोठामा धेरैजना सुत्न बाध्य भएको, ओसिला भुइँमाथि म्याट्रेसहरू थोपारिएको र खाना तथा यातायातका लागि समेत उनीहरूमै अतिरिक्त पैसा उठाइने गरेको देखाइएको छ।
कामदारहरूलाई दैनिक रूपमा फार्मसम्म पुर्‍याउन प्रयोग गरिने भ्यानहरू पनि अत्यन्त असुरक्षित अवस्थामा थिए। विस्थापित कामदारमध्ये एक जनाको भ्यान दुर्घटनामा मृत्यु भएको विवरण समेत बाहिर आएको छ।
स्पेनी प्रहरीले यो घटनालाई मानव तस्करी र जबर्जस्ती श्रमको उदाहरण बताएको छ। गिरोहले आर्थिक समस्यामा रहेकाहरु विभिन्न मुलुकबाट रोजगारीको लोभ देखाएर स्पेन ल्याउने, कागजात नियन्त्रणमा राख्ने र अवैध रूपमा श्रम शोषण गर्ने गरेको खुलेको प्रहरीले उल्लेख गरेको छ।
उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित आवासमा राखिएको छ भने पक्राउ परेकाहरु विरुद्ध कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]