बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी जियाको आज बिहान उपचारका क्रममा निधन भएको हो। उनी विगत २० दिनदेखि भेन्टिलेटरमा रहेकी थिइन्।
खालिदा जिया विगत केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखा सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। उनको निधनको पुष्टि परिवार र पार्टीका नेताहरूले गरेका छन्। सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशको प्रधानमन्त्री बनेकी जिया पूर्व राष्ट्रपति जिया-उर-रहमानकी पत्नी हुन्। उनी बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री समेत हुन्।
उनका जेठा छोरा एवं बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान सन् २००८ देखि लन्डनमा बस्दै आएका थिए र उनी यसै महिना मात्र बंगलादेश फर्किएका छन्। उनका कान्छा छोरा अराफात रहमानको भने सन् २०१५ मा हृदयाघातका कारण निधन भइसकेको छ। फेब्रुअरी ८, २०१८ मा, ढाकाको विशेष अदालतले खालिदा जियालाई जिया अनाथालय ट्रस्टको नाममा सरकारी कोष हिनामिना गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो। खालिदाका छोरा तारिक र अन्य पाँच जना अभियुक्तलाई पनि १० वर्षको सश्रम कारावासको सजाय सुनाइएको थियो।
उनीहरूलाई २ करोड १० लाख बंगलादेशी टाका जरिवाना पनि लगाइएको थियो। तारिक र अन्य दुई अभियुक्त भागे। जियाले यो निर्णयविरुद्ध उच्च अदालतमा अपिल गरिन्। अदालतले अक्टोबर ३०, २०१८ मा मुद्दाको सुनुवाइ गर्यो र सजाय बढाएर १० वर्ष पुर्यायो।
त्यसपछि खालिदाले सजाय विरुद्ध पुनरावेदनको अनुमतिको लागि आवेदन दिइन्, जुन कानुनी कार्यवाहीको कारण पाँच वर्ष ढिलाइ भएको थियो। शेख हसिनाको कूको एक दिनपछि, खालिदा जिया अगस्ट ६, २०२४ मा रिहा भइन्। त्यसपछि उनी राम्रो उपचारको लागि लन्डन गइन्। त्यहाँ चार महिना बिताएपछि, उनी मे ६ मा देश फर्किएकी थिइन्। – एजेन्सी
