उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु

२०८२ माघ १५ गते, बुधबार


काठमाडौँ । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री तथा नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) का वरिष्ठ नेता अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ। बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा उनको सवार विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो।
हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा परेको विमानमा अजित पवारसहित पाँच जना यात्रु सवार थिए। दुर्घटनालगत्तै उद्धार गरी अस्पताल पुर्‍याइए पनि उनीहरू सबैको मृत्यु भएको पुष्टि गरिएको छ। पवारसँगै विमानमा विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक सवार थिए। पवारका निकट सहयोगी किरण गुजरले उपमुख्यमन्त्रीसहित छ जनाको शव अस्पताल ल्याइएको जानकारी दिएका छन्।
६६ वर्षीय पवार जिल्ला परिषद् निर्वाचनको प्रचारका क्रममा चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न मुम्बईबाट बारामतीतर्फ जाँदै थिए। अवतरणका क्रममा प्राविधिक समस्या देखिएपछि विमान नियन्त्रण बाहिर गएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनापछि महाराष्ट्र सरकार र नागरिक उड्डयन निकायले घटनाको औपचारिक अनुसन्धान सुरु गरेका छन्। दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।
अजित पवारको आकस्मिक निधनले महाराष्ट्रको राजनीति स्तब्ध भएको छ। भारतीय प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूले उनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]