पाकिस्तानी सुरक्षाकर्मी र पृथकतावादी लडाकूबीच भीषण भिडन्त !
काठमाडौँ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तका विभिन्न सहरमा सरकारी सुरक्षा बल र पृथकतावादी लडाकूबीच भएको भिडन्तमा कम्तिमा १२५ जनाको मृत्यु भएको छ। पाकिस्तानी सेनाले शनिबार जारी गरेको विज्ञप्तीमा बलुचिस्तानमा सञ्चालन गरिएको सुरक्षा कारबाहीका क्रममा ९२ जना पृथकतावादी लडाकू मारिएको जनाएको छ। भिडन्तमा १५ जना सुरक्षाकर्मी र १८ जना सर्वसाधारणको पनि मृत्यु भएको सेनाले जनाएको छ।
इरान र अफगानिस्तानसँग सीमा जोडिएको बलुचिस्तानमा दशकौँदेखि पृथकतावादी विद्रोह जारी छ। शनिबार भएका आक्रमणको जिम्मेवारी प्रतिबन्धित पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले लिएको छ। समूहले प्रान्तभर एकैसाथ आक्रमण गरिएको र करिब १५ घण्टासम्म चलेको कारबाहीमा ८४ जना पाकिस्तानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ।
पाकिस्तानी सेनाको सञ्चार शाखा आइएसपीआरले भने आक्रमण भारत प्रायोजित लडाकुबाट गरिएको दाबी गरेको छ। आइएसपीआरका अनुसार कुनै पनि सहर वा रणनीतिक स्थल नियन्त्रणमा लिन खोजिएको प्रयास सुरक्षा बलले असफल पारेको छ।
‘घटनाभर बाहिरबाट सञ्चालन गरिएका आतंककारी नेतृत्वसँग प्रत्यक्ष सम्पर्कमा रहेर आक्रमण गरिएको स्पष्ट गुप्तचर प्रमाणले पुष्टि भएको छ,’ सेनाको विज्ञप्ती उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
आक्रमणहरू क्वेटा, मस्तुङ, नोष्की, दलबन्दिन, खारान, पञ्जगुर, तुम्प, ग्वादर र पास्नी क्षेत्रमा भएका थिए। आन्तरिक मामिलामन्त्री मोहसिन नक्भीले आक्रमणको कडा निन्दा गर्दै सुरक्षा बलले प्रभावकारी रूपमा प्रतिकार गरेको बताएका छन्।
ग्वादरमा प्रवासी कामदार बसोबास गर्ने क्याम्पमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकमध्ये पाँच पुरुष, तीन महिला र तीन बालबालिका रहेका छन्। घटनापछि ग्वादरमै सुरक्षा बलले ६ जना लडाकुलाई मारिएको बताइएको छ।
अधिकारीहरूका अनुसार नोष्की जिल्लामा स्थिति गम्भीर बनेको छ। त्यहाँ जिल्लाका शीर्ष प्रशासकलाई लडाकुले अपहरण गरेको दाबी गरिएको छ। पाकिस्तानी अखबार डन का अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ती प्रशासक लडाकुको नियन्त्रणमा रहेको देखिएको बताइएको छ।
क्वेटाका केही क्षेत्रमा सशस्त्र समूहले अस्थायी रूपमा सडक अवरुद्ध गरेको र उच्च सुरक्षा क्षेत्र नजिक विस्फोटको आवाज सुनिएको भए पनि पछि स्थिति नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। केही जिल्लाका अस्पताललाई आपतकालीन अवस्थामा राखिएको छ।
पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त बलुचिस्तानमा जातीय बलुच समूहद्वारा दशकौँदेखि विद्रोह हुँदै आएको छ। पाकिस्तान सरकारले यस हिंसामा विदेशी पक्षको समर्थन रहेको आरोप लगाउँदै आएको छ, जसलाई सम्बन्धित पक्षहरूले अस्वीकार गर्दै आएका छन्।
