पाठकसँगको जम्काभेटमा भलाकुसारी – नन्दलाल आचार्य

२०७० बैशाख २१ गते, शनिबार


श्रद्धेय पाठकवृन्द,
म जन्मिरहन चाहन्छु । म मरिरहन खोज्दछु । म कतै कतै जन्मेँ । म थोरै ठाउँमा मात्रै मरेँ । आफ्नै कारणले र आफ्नै रहरले ! रहरको खेतीको महाअभियानमा सफल हुन ज्यादै चर्को रहेछ । कतै न कतै धेरथोर त म मरेँ पनि मन भरिउञ्जेल मर्न सकेको छैन । तर, म लेख्दै छु । म बोल्दै छु । म हिँड्दै छु । र, यत्तिखेर तपाईंहरू सामु गन्थन अघि सार्दै छु ।
मेरो सपना थियो- कतै मरूँ । कतै जन्मूँ । मरूँ र जन्मूँ । गजब छ- नजन्मिकन मर्न नपाइने, नमरीकन जन्मन नमिल्ने । कस्तो चक्रीय लीला ! लेखकीय संसार यही चक्रमा फनफनी घुमिरहेको छ ।
म दिनदिनै जन्मिरहेको आभाष पाइरहनुभएको छ, मरिरहेको पनि समाचार पढिरहनुभएको छ । म मेरै खुशीले जन्मन्छु तर मर्न भने पाउँदिनँ । मर्न मैले साइत पर्खनुपर्छ । मर्न पाउनु सौभाग्य रहेछ । मर्न सक्नु अहोभाग्य रहेछ । अब भने म जन्मनुलाई सौभाग्य ठान्न छाडिसकेको छु, मर्न पाउनुलाई सौभाग्य मान्न थालेको छु ।
पाठक महोदय, म आफ्नै खुशीले जन्मन्छु । म आफ्नै रहरले साहित्यको जगमा टुकुटुकु हिँड्छु । मलाई जन्मन पनि वाध्यता छैन, भित्रभित्रै गुम्सन र एकान्तमा बहुलाउन छेकबार छैन । म आजसम्म धेरै पटक जन्मेको छु । कयौँ पटक राजधानीमा जन्मे, कयौँ पटक मोफसलमा जन्मे । देश/विदेश जताततै जन्मिरहेकै छु । जन्माइदिनेहरू जन्माउँदा छन् । लुखुरे कलमको भरमा जन्मनेहरू जन्मिदा छन् । जन्मेर मर्न नपाईकन हराउनेहरू पनि धेरै छन् । ती धेरैमा एक म पनि पर्छु भन्ने त्रासले आज पत्र लेख्न वाध्य छु ।
सधैँ जन्मनका लागि नै दिमाख तबला बजाइरहन्छ, हारमोनियम खेलाइरहन्छ, बाँसुरी फुकिरहन्छ । खासमा मज्जाले मर्न भने पाइएको छैन । एकाध पटक स-सानो मुत्युवरण गरेका घटना के बताऊँ र ! धेरै पटक जन्मिरहन चाहनेहरू एकाध पटक मात्र मर्न पाउँछन् भने जन्मनुको नै के काइदा भो र !
‘मुनामदन’मा जन्मेर लक्ष्मीप्रसाद मरेको लाखौँ पटक भो क्यारे । उसो त ‘घुम्ने मेचमाथि अन्धो मान्छे’मा जन्मेका भूपि शेरचन पनि कयौँ पटक मरिसके । ‘राधा’मा जन्मेर धराबासीले ठूलो शहादत प्राप्त गरे । श्रवण मुकारुङ पनि ‘बिसे नगर्चीको बयान’बाटै कति पटक मरे भनी साध्य छैन । मर्ने रहरले नै जन्मेकी पार्वती राउत ‘भनसुनको देश’मा मन खोलेर मर्न नपाईकन चुपचाप राजधानीमा थन्केकी छिन् । भर्खरै ‘भगजोगनी’मा जन्मेकी करुणा झाले पनि मन भरिउञ्जेल मर्न भेटेकी छैनन् । तर, पारिजात जति पटक जन्मिइन्, त्यत्ति नै पटक मरिन् । सरुभक्तहरू, राजेन्द्र सुवेदीहरू, ध्रुवचन्द्र गौतम, दिल सहानी, ऋषिराज बरालहरू अनगिन्ती पटक मरिसके । ‘अर्न्तर्मनको यात्रा’ होस् कि ‘उर्गेनको घोडा’ होस् वा ‘जीवन फूल कि काँडा’ नै किन नहोस् जन्मने जन्मदा छन् तर मर्न भने सबैले पाएका छैनन् । सरुभक्तहरू, कृष्ण पहाडीहरू, कृष्ण अविरलहरू, नयाँघरेहरू, रोशन थापा ‘नीरव’हरू धेरै पटक जन्मेर धेरै पटक मरेको बुझेको छु, सुनेको छु ।
कृष्ण सेन ‘इच्छुक’हरू, घनश्याम ढकाल, विश्वेश्वरहरू, रिमालहरू, समहरू जसरी मर्न पाए, चोला फर्ेन भेट्टाए कस्तो हुन्थ्यो ! भन्ने मनमा डाहा हुन्छ । भित्रभित्रै पोलिन्छु, पाकिन्छु । रात मित्र बन्छ । दिन प्राण ठहरिन्छ । भरदिन संसारमा र संसारकै लागि हुन्छु । धेरै जसो रात जन्मको महाअभियानमा जुट्छु । र, पनि मर्न सकिरहेको छैन । मर्न पाइरहेको छैन । तमाम पाठकलाई कृपया जन्मन मात्र नदेऊ, मर्न पनि देऊ भन्न मन लागेको छ तर खुलेर यसो भन्न नैतिकताले अवरोध खडा गरेको छ । जन्मनु ठूलो कुरा हैन, मर्नु ठूलो कुरा हो ।
पाठकवृन्द, म फकाउँदै छु । म जम्ला हात गर्दै छु । म पीपलपाते बन्दै छु । परशु प्रधानहरूले आफू जन्मेको कुरा मात्र गरेनन् । आफू जन्मनुको कारणसमेत खोतले । म पनि खोतल्दै छु । म पनि विगत उल्टाउँदै छु । कहिलेकाहीँ विगत पनि निकै चखिलो हुँदो रहेछ । बाँच्नलाई विगतको साथ चाहिँदो रहेछ । जन्मन रहर गर्नेहरूले मर्न राजी नभई नहुँदो रहेछ । मर्न नपाउँदा हुने पीडामा मलहमपट्टी लगाउन विगत कोट्याएर ओछ्याउँदा पनि अलिक सञ्चो हुने रहेछ ।
पाठक महाशय, अन्याय गर्नुभो । मर्न पनि बाटो छेक्नुभो । जन्मदा चाहिँ बाटो छेक्न भुल्नुभो । जन्माउन जान्नेले मुत्युको मुख खोल्दिन पनि जान्नुपर्छ । हुन त, बिरालो बाँधेर पितृको श्राद्ध गर्ने दिन समाप्त भए । समाप्त भएकोलाई बिउँझाउनु हुन्नथ्यो । बाध्य छु । उठाइरहेछु । मर्न नपाएको झोँकमा के हुन्छ, हुन्छ । म भन्न सक्दिनँ । तर खबरदार ! नपढी, नगुनी र नसोची मार्न पाउनुहुन्न नि । मर्न मार्ग प्रशस्त गर्न मात्र सक्नुहुन्छ । जन्मन दिँदै नदिने अधिकार सम्पादक/प्रकाशकलाई होला तर कतै न कतैबाट जन्मी हाले मर्न दिने पूरापूरी हक तपाईं पाठकवर्गलाई छ ।
आजसम्ममा म तपाईंको अदालतमा धेरै पटक पुगेको छु । पुग्दै बहस सुन्दै र धारा-उपधाराको बखान सम्झदै फर्केको छु । आर्यघाट पुर्याएको लास फेरि घरभित्र हुलिनु राम्रो होइन । किन राम्रो नभएको भनेर सोध्नुहोला । म आज रातीकै घटना सम्झदै छु र तपाईंहरूलाई अवगत गराउँदै छु ।
पाठक महाशय, म फेरिफेरि तपाईंको अदालत धाउने मनस्तिथिमा थिएँ । त्यसै-त्यसै कल्पनामा हराइरहेको थिएँ । फागुपूणिर्माको उमङ्गमा रमाउन मित्र कुमार बब्लु स-परिवार ससुराल इनरुवा हानिएका थिए । राजविराजको ठाउँ, चौर्यकर्ममा पारङ्गतहरूको कमी नभएको होलीको अवस्था ! चोरी नगर्नेहरूले पनि होलीको मज्जा लिँन भन्दै र यत्तिखेर दाउ पर्छ भन्ठान्दै घर फोडेर सिरिखुरी उडाउने सम्भावना ज्यादा भएको समय ! मेरी गृहमन्त्राणी लक्ष्मी बाईका अनुसार मैले मित्रकहाँ रात विताउनुपर्ने भयो । ठीकै छ । अझ एकान्त रात मिल्ने पर्यो भन्दै थिए ।
त्यही स्थानमा, सुनसानमा र विल्कुलै शान्त मुद्रामा मन उठ्दै थियो । कलम जाग्दै थियो । हावा चल्दै थियो । कोठा बाहिर प्रकृतिले नृत्य सुरु गरिसकेको आभाष मिल्दै थियो । …..गयो । झ्याप्पै बत्ती गयो । बिजुलीसँगै मन पनि गयो । कलम पनि खुत्रुक्क खस्यो । सारा योजना चौपट्ट भयो । अझ चारैतिर शान्ति छायो । तर, विल्कुलै मुदा शान्ति ! प्राण नभएको शान्ति ! आजका मान्छेको प्राण बिजुलीमै छ । त्यो गएपछि ‘थुक्क के-के गरूँला भन्दै थिएँ’ भन्दै न्रि्रादेवीको चरणर्स्पर्श गर्ने कार्यमा तन्मय भएर लागेँ । त्यसपछि कतिखेर के भयो – मैले आँखा देखिनँ, मन उठाइनँ । सारा कुरा मस्तीमा परिणत भए । सास्तीमा कसरी र किन प्रवेश भयो त्यस वारे धरोधर्म म केही जान्दिनँ । तपाईंहरू स्वयम्ले छुट्याउनुहोला ।
यी भौतिक दुइ नेत्रको कुरा अब निकै बेरका लागि बन्द गर्छु हलचल विहीन नै आँखा खोल्दा, आँगनमा लास थियो । कोही रुँदै थिए, कोही भक्कानिदै थिए । मलिन मुद्रामा मतिर हेर्दै थिए । त्यत्तिबेला महानायक राजेश हमाल भएझैँ गरी म चारैतिरबाट घेरिएँ । लास नजिक बूढाखाडा थिए । अरू चाहिँ मेरै वरपर धुइरिएका थिए । किन आज मान्छेहरू मलाई र्घेछन्, यो लास कसको हो – गम्न थालेँ । कोही बोल्दैनन् । केही बोल्दैनन् । के भा’को हो यस्तो – मनका कुरालाई मुखमा ल्याई, हावामा सञ्चरण गराएँ । चारैतिर सन्नाटा, कोही बोल्दैनन् । गहभरि आसु मात्र देख्छु । मेरो मन अमिलो भयो । त्यत्तिञ्जेलसम्म चाहिँ मैले आँखालाई रुझाउने र भिजाउने काम गरेको थिइनँ कारण खोतल्दा खोतलिँदैन । अघि बढ्न खोज्छु, भीडले घेरेको छ । खै, के हो, के हो भनेर त्यसै अडिएँ ।
त्यत्रो भीडका बीचमा पनि एकान्त पाएँ । कस्तो आर्श्चर्य ! जीवनको कत्रो नाटक ! नाटक लेख्ने मान्छेहरूमा म पनि एउटा मान्छे तर अभिनय भन्ने कुरा कुन जन्तुको नाम हो त्यो अझैसम्म राम्ररी थाहा छैन । यी साराका सारा मान्छेले आज एकै साथ अभिनय गरिरहेका छन् । बडो त्रासदी अभिनय ! त्यसै बखत एकोहोरो शङ्ख फुकियो । त्यस आवाजसँगै मेरो पनि बाटो फुकुवा भयो । अघि बढेँ, लास नजिक पुग्न खोज्दै थिएँ । सबैले बाटो छाडिदिएकामा बेग्लै प्रफुल्लताका साथ पाइला अघि बढ्दै थिए ।
गन्तव्य स्थलमा पुग्नै लागेका बेला एक्कासी पुराना मित्र पदम घिमिरेले बाटो छेके । हात पक्रेर एकान्त तिर लगे । मैले उही पुरानै प्रश्न उनीसँग पनि सोधेँ । निकैबेरसम्म उनले मेरो अनुहार र मनोदशाको अध्ययन गरिरहे ।
म उठेर हिँड्न मात्र के लागेको थिएँ, उनले मुख खोले- लीला ! दैवको लीला ! प्रकृतिका चराचर जगत्को जीवनचक्र ! आज यहाँ एउटा अध्याय बन्द भयो, परमात्माको अदालतमा अर्को नवीन अध्याय सुरुआत भयो । परमात्माको प्यारो/प्यारी हुन हामी सबैले जानर्ैपर्छ । त्यसैको मात्र प्रतीक्षा गरिरहेका छौँ । अघोषित प्रतीक्षा ! कसैको प्रतीक्षाको घडी चाँडो समाप्त हुन्छ र जान पाउँछ, कसैको सकिएको छैन र जीवनको यस प्रतीक्षालयमा प्रतीक्षारत् छौँ । त्यसैले हामीलाई ‘जिउँदै छौँ तर एकदिन मर्नुपर्छ’ भन्ने लागेको छैन । तर मित्र, मेरो कुरामा विश्वास गर- हामी पलपल मरिरहेका छौँ । सम्पर्ूण्ारूपले मर्न नसकेका र नपाएका कारणले मात्र हामी आफूलाई जिउँदै ठान्छौँ । हामी दुबै ३८ बर्षउमेरको मुत्यु भइसकेका अधवैंसे मान्छे हौँ । यस अघिको वाल्यकाल, युवाकाल कहाँ गयो भन त – हो, त्यो मर्यो । त्यो सकियो । त्यो हरायो । त्यो विलायो । आज उहाँ -लासलाई देखाउँदै) सम्पर्ूण्ारूपले आफ्नो काल व्यतित गरेर जानुभयो । त्यसमा हामी बुद्धिजीवीले मन दुखाउने र तन सुकाउने काम गर्नु उचित छैन । आँसुलाई आँखामा नै सजिन दिनर्ुपर्छ । त्यसको सौर्न्दर्यता त्यही ठाउँमा झल्कन्छ । धर्तीमा खस्न दिएमा महत्व सकिन्छ । महत्व बुझ र आँसुलाई साँचेर राख ।
पाठक महोदय, मित्रको मुख बन्द हुनेवाला थिएन । मेरै पुरानो प्रश्नको पुनरावृत्तिले मुख बन्द भयो । अनुहार पढेँ, गहभरि आँसु थियो । मन भक्कानो पारे । अरू बोल्न सकेनन् । एकान्ततिर लागे । तत्कालै डाँको छोडेर रोएको आवाज सुने । रुनलाई पनि एकान्त चाहिने रहेछ । म पनि उनीनेर पुगेर वास्तविकता बुझ्न चाहेँ । ढुङ्गो बोल्ला तर उनी बोलेनन् ।
अब म नितान्त एक्लो भएँ । मलाई सम्झाउने मित्र पनि थिएनन् । अन्य कोही पनि आएनन् । मात्र रोएको आवाज सुन्थेँ । अलिअलि चिच्चाएको आवाज मकहाँ पुग्थ्यो । लास कसको हो भन्ने कुरामा अझै बेखबर थिएँ । कुनै बटुवाको हुनुपर्छ । एक मनले यसै भन्थ्यो । म किर्ंकर्तव्यविमूढ भएँ । मलाई पनि चिच्याउन मन लाग्यो, डाको छोड्न मन लाग्यो । तर, केका लागि चिच्याउनु, केका लागि डाको छाड्नु ! समय वितिरहेको थियो । मान्छेको भीड बढिरहेको थियो । नाटक ! यो जीवनकै नाटक हो । पक्कै यो सडक नाटक हो । घरिघरी मन यसै भन्थ्यो । मनले मनलाई सम्झाउन खोज्थ्यो । तर, मन नै हो मान्ने कुरै थिएन । चुपचाप, चुपचाप, मौनतातिर एकोहोरिएँ ।
पाठकवृन्द, त्यस बेला मलाई मान्छे हुनुमा घृणावोध भयो । एउटा मान्छे निष्प्राण छ । अर्को मान्छे नजिक भएर पनि बेखबर छ । मेरै घरमा सयौँ मान्छे जम्मा छन् । रुन सक्छन् । चिच्याउन जान्दछन् तर मलाई चाहिँ सबै मिली बेखबर पारिरहेछन् । अरू रुन्छन् । म रुन सक्दिनँ । म भीडलाई गलहत्याएर लास नजिक पुग्न सक्दिनँ । मान्छेहरूको करुणाजन्य चर्तिकलाले मलाई त्यो लास परिचित र लोकप्रिय व्यक्तिको हनर्ुपर्छ भन्ने लाग्न थालेको थियो । लासको अनुहार हेरेर नै म मनका अनगिन्ती प्रश्नहरूको जवाफ एकसाथ पाउने आशामा थिएँ । मान्छे हुनुभन्दा पशु हुनुमा निको मान्न थालेको थिएँ । आफ्नो होस् या अरूहरूकै जो भए पनि यो कुनै सडक नाटक नभई वास्तविकता नै भएको यकिन गर्न भने मैले अरू द्विविधामा हुनु परेन ।
कन्पारोमा दुबै हात लगाएर टुक्रुक्क बसी झोक्रिरहेँ । मात्र सोची रहेँ । अनुमान लगाई रहेँ । विकल्पका बाटाहरू खोजिरहेँ । कतै पनि केही फेला पारिनँ । त्यसै, त्यसै आफू आफैँमा हराइ रहेँ ।
उनै मित्र पदमप्रसाद आए । काँधमा हात राखे । मुण्टो उठाएँ । उनले मेरो अनुहार हेन सकेनन् । मेरो मन पढ्न सकेनन् । म मुख खोल्न मात्र लाग्या थिएँ, हत्त न पत्त छेकिदिएँ । अनि, आफैँ बोल्न खोजे । उल्टै फेरि भक्कानिए । वाक्य निस्केन । म भने ठूलै अनीष्ट आइपरेको अनुमान गर्न वाध्य भएँ ।
जे होस्, बोल्न पाइन्न, प्रश्न ओछ्याउन भेटिन्न, पाइला अघि र्सार्न पाइन्न । चारैतिरबाट निरङ्कुशताका पर्खालहरूले घेरिएको छु । ड्याम्मै पड्कने मन भयो । एकै पटकमा विष्फोट हुने मन आयो । भ्रम सिर्जना गर्ने पर्दाहरू धुजाधुजा पारेर र्सवाङ्ग नग्न भई बहुलाउने मन भयो । मनमा औडाहाको मात्रा धेरै भए पछि बाधकहरू जतिको शिर छेदन गरी कालीझैँ रगत पिउँदै अघि बढ्ने मन हुँदो रहेछ । तर, मनसँगै काम गर्न भने नमिल्दो रहेछ ।
अरू केही लागेन । उनी पनि टुक्रुक्क बसे । म चाहिँ थ्याच्चै बज्राशनमा नै बसे । उनी पनि मौन, म पनि मौन । त्यही मौनताको अझ गहिराइमा पुग्ने इरादाले आँखा चिम्लिएँ र आउँदो जाँदो श्वासको साक्षी हुन थालेँ । र्सवस्विकार्य भावमा रहने अभ्यास गर्न थालेँ । त्यस बखत म यस लोकलाई छाडेर अन्यत्रै विचरणको महाअभियानमा सरिक हुँदै गएँ ।
त्यसै बखत उनको मुखबाट आवाज आउन शुरु गर्यो- यार, बाँच्न मात्र हैन, मर्न पनि अभ्यास चाहिन्छ । बिना अभ्यासको मरणले आनन्द दिँदैन । जीवनमा झैँ आनन्द मरणमा पनि छ । हामी त्यो आनन्द नलिईकनै सकिन्छौँ । जन्मन सक्नेले मर्न पनि सक्नर्ुपर्छ । अभ्यासले जन्मनर्ुपर्छ, अभ्यासले मर्नुपर्छ । मान्छे जन्मन पनि स्वतन्त्र हुनर्ुपर्छ, मर्न पनि स्वतन्त्र रहनर्ुपर्छ । तर, के गर्ने ! यहाँ मान्छे कतैबाट पनि स्वतन्त्र छैन । जन्मनुपर्ूव स्वतन्त्र, जन्मे पछि पिँजडामा जाकिँदै र बन्धनमा फँस्दै जान्छ ।
अरू के-के भन्ने सुर थियो कुन्नि ! मैले सुन्ने धर्ैयता नै गुमाइसकेको थाहा पाएर उनी उठे । जाँदा-जाँदै सुन्न पाएँ-…..मलाई धेरै माया गर्ने सानिमा….कठै….उनका यी सन्तान…..।
शान्तिको गहिराइतर्फउन्मुख मेरो मनमा यी अल्प वाक्यले आँधीबेहरी ल्याइदियो । शान्ति भङ्ग भयो । नातामा उनी हाम्रा केही होइनन् । तर, आमालाई सानीमा भन्थे । बोली मतिर नै सङ्केत भएको हो कि भनेर आत्तिएँ । उठेँ । दगुरेँ । मान्छेहरू रोक्न थाले, रोकिइनँ, छेक्न खोजे छेकिइनँ । कसैलाई धकेल्दै, कसैलाई कुल्चँदै, कसैलाई लडाउँदै त्यहाँ पुगेँ । अनुहार नियाल्न खोज्दा तैनाथ सुरक्षाकर्मीले रोके । पुरानै प्रश्न राखेँ । निरुत्तर । पुनरावृत्ति गर्दा पनि जवाफ नपाए पछि जोसले अघि बढेँ । रोकिइयो । रोक्नेलाई नै यस्तरी धकेँले कि ऊ तीन हात पर पुगेर उतानो टाङ्ग लगाउन पुग्यो । अरू सुरक्षाकर्मी उसैलाई उठाउन व्यस्त रहे । त्यही मौका मेरो हातमा थियो । गएर लासको शिर नजिक पुगी कपडा उघारेको त…………………..!
…..आमा…मेरी आमा….किन नबोल्नुभा’को…..मैले के विराएँ आमा…….! मलाई छाडेर कता जान लाग्नु भो आमा !….आमा हजुर बेगर म यहाँ रहन्न आमा…! जाने नै भए मलाई पनि लग्नुस् आमा….! आमा, किन बोल्नुहुन्न । म तपाईंको माहिलो छोरो । म तपाईंको पढेलेखेको छोरो आमा !….आमा, मेरो पढेको छोरो…मलाई सुख दिने छोरो भन्नुहुन्थ्यो नि ! हो, त्यही छोरो म आइपुगँे आमा ! जानेर चित्त दुखाएको छैन, अन्जानको गल्तीलाई माफ गर्दिनुस् आमा….आमा, उठ्नुस् । म हजुरकै चरणको दास भएर रहन चाहन्छु । …आमा, मातृसेवक बन्ने मेरो अधिकार हनन नगर्दिनुस्…आमा, आमा…!
म नानाभाँतीले रुन, चिच्याउन थालेँ । सुरक्षाकर्मीले मेरा चारै हातपाउ पक्रेर तुर्लुङ्ग पारे । म आमातिर लम्कन छाड्दिनथेँ । उनीहरू मलाई अलग राख्न र अलग पार्न चाहन्थे । लासको वरपर रगतका टाटैटाटा थिए । कोही पोष्टपार्टमका लागि गाईघाट पुर्याउनुपर्ने कुरा राख्दै थिए । कोही ‘यो घरले जा-जा घाटले आइज, आइज’ भन्ने उमेरकी मान्छेको केको पोष्टमार्टम भन्दै थिए । कोही सप्तकोशी पुर्याएर लास जलाउन ढिलो भयो भन्दै हतारिँदै थिए । सबैतिर आ-आफ्नै किसिमका मतमतान्तर थिए ।
निक्कैबेरको प्रयत्न पछि म मुक्त भएँ । लास बाँधबुध गरी बोक्न मात्र बाँकी थियो । बाँस काट्ने खुकुरी त्यहीँ थियो । हातमा लिएँ । बास सहितको लास उठाएँ । ढाडमा लास छ, हातमा खुकरी छ । भुसिया कुकुरहरू तत्पत्तिएको रगत चाट्न तम्तयार थिए । सारा धर्ती नै डरलाग्दो मुत्यु बनेर, मलाई चोक्टाचोक्टा पारेर खान उद्यत भएझैँ लाग्यो । म हिँडेँ । शङ्ख एकोहारो बज्दै गयो । म सप्तकोशीको मार्गतिर नभई अन्यत्रै लागेँ । मान्छेहरू रोक्न आए, खुकुरी देखाएँ ।
त्यस बेला म कुर्लिएको थिएँ- अघि नबढ, अपराधीहरू हो ! मेरी आमालाई यस हालतमा पुर्याउने तिमीहरू नै हौ । म नभएको मौका पारी मेरी आमालाई मार्यौ । मेरी आमालाई पटकपटक मारेको म सहन र देख्न सक्दिनँ । त्यसैले मेरो बाटोमा अवरोध सिर्जना नगर, भलाइ त्यसैमा छ । तिमीहरू अरूका भतुवाहरूको हात अपवित्र छ, त्यस कलङ्कित हातले मेरी आमाको पवित्र शरीर छुन पनि पाउन्नौ……।
मेरा कुराले उनीहरू फर्के । म लास लिएर गुहाली भित्र पसेँ । तल गाईगोठ थियो, माथि पराल-खोसेला र अरू खित्रिङ्गमित्रिङ्ग वस्तु राखिएको थियो । त्यहीँ आमालाई ठड्याएर राखेँ । आफू भने चरणर्स्पर्श गरी त्यही झुकिरहेँ । आमा प्रशन्न चित्तले मुस्कुराइरहनुभएको महसुस गरिरहेँ ।
पाठकवृन्द, मभित्रको लेखक जन्मन्छ र मर्छ । अरू गन्थन बन्द गर्नुपूव मैले नभनी नहुने कुरा के हो भने कलमले बाँच्ने र कलमको कमाइ/पौरखमा खुशी हुने सबै लेखक हुन्, सबै पाठक हुन् । लेखकका हातबाट गइसकेका वा र्सार्वजनिक भइसकेका रचनाहरूका लागि लेखक मर्छ र त्यो पाठकको नासो सावित हुन्छ । मैले पनि नासो स्वरूप ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ सुम्पेको छु । त्यसलाई कसरी सुरक्षा दिनुपर्छ वा अघिकी आमाको हालत झैँ वेवास्था भावमा राख्नुपर्छ, त्यो पूरापूरी जिम्मा लगाउँदै यस पत्रलाई अन्त गर्दछु ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार

धरापको बिचैबीच जीवन

२०८२ बैशाख १ गते, सोमबार