पर्वतीय फिल्म मेला मंसिर २६ देखि
काठमाडौं। ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’को ११ औं संस्करण आगामी मंसिर २६ देखि ३० सम्म हुने भएको छ। हिमाल एसोसियसनको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन सहारा शर्माद्वारा निर्देशित नेपाली फिल्म ‘चेजिङ रेन्बोज’को प्रिमियरबाट हुनेछ। राष्ट्रिय सभागृहमा चल्ने महोत्सवमा यसपालि २० देशका ४९ फिल्म छानिएको छ। साहसिक यात्रा, पर्वतारोहण, द्वन्द्व, संस्कृति, गरिबी, विकास, लैंगिकता, भूमण्डलीकरण र बसाइँसराइ जस्ता विषयमा बनेका डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म महोत्सवमा परेका छन्।महोत्सवमा नेपाली फिल्मबीच ‘नेपाल प्यानोरमा’ नामक खण्डमा छुट्टै प्रतियोगिता हुनेगर्छ। नेपाल प्यानोरमा सुरु गरेको पाँच वर्षको अवधिमा नेपाली फिल्मकर्मीहरुको विषय छनोट र प्रस्तुतिमा उन्नति भइरहेको महोत्सव अध्यक्ष वसन्त थापाले बताए। किम्फको समापन चाहिँ क्याप्टेन जोहन नोयलको फिल्म ‘द इपिक अफ एभरेस्ट’को विशेष प्रदर्शनीबाट गरिनेछ।यो डकुमेन्ट्री भर्खरै ब्रिटिस फिल्म इन्स्टिच्युट नेसनल अर्काइभले पुनःप्रशोधन गरेको हो। यस डकुमेन्ट्रीमा सन् १९२४ मा जर्ज मेलोरी र एन्ड्रियु इरभाइनले सगरमाथा आरोहण गर्दाका दृश्य र प्रसंग समावेश छन्। ती दुई आरोही सगरमाथाको चुचुरोमा पुगे कि पुगेनन् भन्ने बहसलाई फिल्मले फेरि ब्युँताइदिएको छ।
‘ह्वाई पोभर्टी’ शीर्षकमा युवा फिल्मकर्मीले बनाएका छोटा फिल्महरुको प्रतिस्पर्धा पनि महोत्सवमा समावेश गरेको छ। स्टेप्स इन्टरनेसनलको सहकार्यमा गरिन लागेको प्रतिस्पर्धाका उत्कृष्ट तीन विजेताको किम्फमै उद्घोष गरिनेछ। किम्फमा यसपालि तीन सदस्यीय अन्तर्राष्ट्रिय निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका विजेताहरुको छनोट गर्नेछ र विजेताहरुलाई क्रमशः १५ सय, एक हजार र पाँच सय अमेरिकी डलर पुरस्कार दिइनेछ। नेपाल प्यानोरमातर्फ उत्कृष्ट डकुमेन्ट्रीलाई ५० हजार र उत्कृष्ट फिक्सन फिल्मका लागि २५ हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ। त्यस्तै दर्शकहरुको मतका आधारमा कुनै एक फिल्मलाई अडियन्स अवार्ड पनि प्रदान गरिनेछ।