आज स्वरसम्राट नारायण गोपालको स्मृति दिवस
काठमाडौं ,१९ मंसिर । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपालको आज २३ औ स्मृति दिवस । नेपाली संगीतलाई फरक धारमा प्रस्तुत गरी कालजयी गीत गाउने सुमधुर स्वरका धनी नारायण गोपालका गीतहरु आज पनि स्रोताका रोजाइ बन्ने गरेका छन् ।
२३ बर्षभन्दा अगाडि उहाँले गाएका गीतहरु अझै पनि रेडियो नेपाल, विभिन्न एफएम स्टेसन तथा टेलिभिजनबाट प्रशस्तै बज्ने गरेका छन् । सांगीतिक क्षेत्रका अमूल्य व्यक्ति उहाँको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा नारायणगोपाल संगीत कोषले नारायण गोपाल सम्मान र संगीत पुरस्कार वितरण गर्ने भएको छ ।
त्यस्तै नेपाल कला संस्कृति विकास केन्द्रले पनि विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको सम्झना गर्ने जनाएको छ ।
राजधानीको महाराजगञ्जस्थित चोकमा रहेको उहाँको शालिक नजिकै हुने कार्यक्रममा विभिन्न कलाकारहरुले नारायण गोपालका गीतहरु गाउने कार्यक्रम रहेको छ ।