उडान – अशोक कुँवर ‘नेत्र’

२०७३ जेष्ठ ५ गते, बुधबार

उ त्यो माथि आकाशमा
एक जोडी पङ्ख फिँजाएर
बादलसँगै लुकामारी खेल्दै
नियाल्नु छ
अग्ला अग्ला शिखर
गहिरो समुद्र
वन,
पाखा,
पखेरा
सयर गर्नु छ जम्मै संसार
भर्नु छ स्वतन्त्रताको लामो उडान।

माथि माथि
हावाको तीव्र वेगलाई
छिचोल्दै
जुन र तारा छुनु छ
फेर्नु छ शान्तिको दीर्घ श्वास
अब बोल्नु छैन मैले
मूर्ख मानवले रटाएको
पटु किस्न कहो
बोल्नु छ आफ्नै मौलिक भाषा
खानु छ इच्छ्याए झैँ आहार बिहार ।

वषौँदेखि यही पिँजडामा
कुँजिएर बस्नु पर्दाको पीडा
एकै पटक बिर्सनु छ मैले
आशा छ
एक दिन पक्कै पलाउने छन्
मेरा काटिएका यी पङ्खहरू
त्यति बेला देखाउने छु
एक सय एक उडानका कला

भर्ने छु स्वतन्त्रताको लामो उडान ।

अब मैले
त्यागेर मानवको स्वार्थी माया
खोज्नु छ आफ्नै समाज
जहाँबाट छुटेका थिए
मेरा आफन्तहरू
त्यहीँ भेट्नु छ तिनीहरूलाई
बनाउनु छ सुन्दर गुँड
सजाउनु छ आफ्नै संंसार
कोरलेर आफ्नै बचेरहरू
हुर्काउनु छ आफ्नै आँखा अगाडि
भर्न लगाउनु छ
स्वतन्त्रताको अर्को नयाँ उडान ।

उ त्यो माथि आकाशमा
एक जोडी पङ्ख फिँजाएर
क्षितिजसँगै मितेरी गाँस्दै
नियाल्नु छ
अग्ला अग्ला शिखर
गहिरो समुद्र
वन,
पाखा,
पखेरा
सयर गर्नु छ जम्मै संसार
भर्नु छ स्वतन्त्रताको लामो उडान ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार