मर्नुअघि – अशोक कुँवर ‘नेत्र’

हो मित्र ! मृत्यु निश्चित छ
तर यतिखेर म
बुबाको जिम्मेवारी
आमाको सपना
छिमेकीको बहलाई सम्झँदै
छिचोल्दै अनकन्टार जङ्गलहरू
गोडालाई नरोकाई
पैतलाका डोबहरू कोर्दै छु
हो मित्र ! मर्नुअघि मैले
केही माइल अघि बढ्नु छ ।
निकै अप्ठ्यारा छन्
बिछ्याएर बाटैभरि काँडा
अवरोध गरिएको छ
गरिँदै छ प्रहार हाम्रो आस्थामा
पारिँदै छ उधोमुन्टो
र रेटिँदै छ
स्वतन्त्रताको गला
दिइँदै छ
चरम् यातना
तर पनि डग्दैनन्,
धोका दिन मान्दैनन्– स्पातहरू ।
आकाशमा
गिद्धहरू घुम्दै छन्
चाहेकै छन्
झम्टेर आस्थामाथि प्रहार गर्न
तर हाम्रो आस्थामा प्रहार हुनुभन्दा पहिले
मैले कायम गराउनु छ
साम्यवाद
उखलेर फाल्नु छ
सामन्त र पुँजीवादको जरा ।
हो मित्र ! मृत्यु निश्चित छ
तर यतिखेर म
अस्थिरता हटाउन
भोकरोगले सताइएका बस्तीमा
चेतना, जागरणको बिहानी ल्याउन
उत्साहको दुन्दुभि लिएर
निस्किएको छु
हो मित्र ! मर्नुअघि मैले
केही माइल अघि बढ्नु छ ।
क्रान्तिको रापमा रापिँदै
भीमकाय पहाडहरूलाई चुनौति दिँदै
विचार फिँजाएर
मैले स्थापना गर्नु छ
वर्गमुक्त समाज
लगाएर सिप,
खर्चेर श्रम
बनाउनु छ
समृद्ध नेपाल
पुरा गर्नु छ
सहिदका ती
अँधुरा सपनाहरू
हो मित्र ! मर्नुअघि मैले
केही माइल अघि बढ्नु छ ।