दशैं – उमेश राई

ए सिंहदरबारको सासकहरु
अलिकती दशैँ पठाईदेओ न ओलांचुङगोलातिर
पठाईदेओ अलिकती दशैँ
हुम्ला जुम्ला र कालीकोटतिर
हामी पनि यै देशका जनाता हौँ
दशैँको नाममा एक छाक मासु भात खाने धोको छ
एक सरो कपडा फेर्ने सपना छ
ए सिंह दरबारका सासकहरु हो
अलिकती दशै हाम्रोतिर पनि पठाईदेओ न ।
सबै भन्छन् , दरबार… दरबार… सिंहदरबार
तर हामीलाई लाग्छ यो/त्यो
चिहानघारी हो / मसानघाट हो
जहाँ चुनाव ताका जागेका हाम्रा आशा र बिश्वासको
एकमुष्ट अन्त्यस्टी हुन्छ ।
भोट माग्दा बाडिएको समुन्नत सपनाहरुको
दाह सँस्कार हुन्छ ।
पटक पटक गर्ल्याम गुर्लुम ढलीरहन्छ
तिमिले गर्ने बिश्वासघातको मनकम्पन मनापाराकम्पनहरुले
चुनावताका ठडिएका आश्वासनको धरहाररा
र झस्किन्छौँ हामी
सपनामा खाएको मिस्ठान्न भोजनको स्वाद सँगै
यथार्थमा भोको पेट नाङ्गा आङहरुको कथा लेखी नसक्नुको छ ।
यसैले ए सासकहरु हो ! ए सिंहदरबार !!
अलिकती दशै हाम्रोतिर नि पठाईदेओ ।
सहि नसक्नु छ मान्छे भित्रै अमान्छे हुनुको पीडा
खवर सुनेउनै होला देवीमा को मन्दिर भित्र
अछुत भनी छिर्न नपाएको कुरा
समानताको माग राख्दा खेदिएका जलाईएका बस्तीहरुले
ढिकरी खान नपाएका कुरा
त्यसैले ए सिंहदरबारका सासकहरु
हामी पनि मान्छे हौँ , मान्छे भएर बाँच्न पाउँ
अलिकती दशैं हाम्रोतिर पनि पठाईदिनु ।
तिमी उता दशैँको नाममा तोप पड्काई रहँदा
देवीदेउताको नाममा पुजापाठ गरिरहँदा
सिमानमा हामी छिमेकीको अतिक्रमणमा परिरहेका हुन्छौँ
यसैले अलिकती दशैँ तारबार भएर आवोस्
सप्तरी, सुस्ता, कालापानी अनि चाँदनी दोधारातिर
ए !
सिंहदरबारको सासकहरु हो अलिकती दशैँ
हाम्रोतिर पनि पठाइदेओ ।
हाम्रोतिर नि पठाईदेओ
दुरदराजका उपेक्षित बस्ती कुनाकन्दरातिर पनि पठाइदेओ ।
अलिकती दशैँ हाम्रोतिर पनि पठाईदेओ ।