कलाकार तथा गायक आरपी भट्टराईको निधन

काठमाडौं, २४ मंसिर । चर्चित कलाकार तथा गायक आरपी भट्टराईको निधन भएको छ । टेलिचलचित्र तीतो सत्यमा ‘लाजाराम’को चरित्रमा देखा पर्ने भट्टराईको आज निधन भएको हो । प्रेसर र सुगरले पीडित भट्टराईको शुक्रबार विराटनगरस्थित आफ्नै निवासमा निधन भएको कलाकार दीपकराज गिरीले जानकारी दिए । उनले दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए । त्यसमा पनि तीतो–सत्यमा ‘लाजाराम’ को चरित्र उनको निकै लोकप्रिय थियो । उनी गायक पनि हुन् । उनले गीति एल्बम पनि निकालेका छन् । चार दिनअघि मात्रै उनी आफ्नो घर विराटनगर गएकाथिए । उनकी श्रीमती वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा छिन् । अस्वाभाविक मोटाइका कारण उनी सधैं चिन्तित थिए । मोटाइकै कारण आफूले धेरै चलचित्रमा काम गर्न नसकेको गुनासो गर्थे ।