नारायणगोपालसँग बितेका मेरा २० वर्ष – पेमला गुरुवज्राचार्य

२०७३ मंसिर २६ गते, आईतवार

प्रेमको सुरुवात, भेटघाट र विवाह
त्यतिखेर म दार्जिलिङको गभर्मेन्ट कलेजमा पढ्थेँ र क्यासल्टन कटेजमा बस्थेँ । मेरो एकजना मिल्ने साथी थिइन्, सिक्किमकी देविका राई । हामी दुबैलाई नेपाली गीतप्रति ठूलो अभिरुचि थियो । देवुचाहिँ खुबै गीत पनि गाउँथी, म भने सुनेर मात्र सन्तुष्टि लिन्थेँ ।
हाम्री भान्से दिदीसँग एउटा सानो रेडियो थियो । हामी शनिबार र आइतबार बिदाको दिन, त्यही रेडियोबाट नेपाली फर्मायसी गीतहरु सुन्थ्यौँ । मैले पहिलोचोटी उहाँको गीत पनि त्यही रेडियोबाट सुनेकी हुँ ।
मलाई उहाँको स्वर पहिलोपल्टदेखि नै मन पर्नथाल्यो र यो क्रम बढ्दैबढ्दै म उहाँको फ्यान नै भएँ । स्वर्गकी रानी मायाकी खानी, आँखाको भाका गीतहरु सुनेर मेरो मनमा एउटा जिज्ञासा सधैं उठिरहन्थ्यो– यति मीठो स्वरको धनीले गम्भीर र मार्मिक गीतहरु गाउँदा कस्तो सुनिन्थ्यो होला । पछि मैले चिठ्ठीमा पनि यो उत्सुकतालाई प्रकट गरेको थिएँ ।
यत्तिकैमा म कलेजको पढाइ सिध्याएर आफ्नो घर (माइत) सुकियापोखरी फर्केर स्थानीय विद्यालयमा अध्यापन गर्न थालेँ । मेरा एकजना अर्का साथी थिए– भीम मुखिया ।
हामी स्कुल कलेजमा सँगसँगै पढ्थ्यौँ मात्र होइन अहिले जागीर पनि एकै ठाउँमा गर्छौँ । हो, उनै भीम मुखिया, बीचैमा कलेजको पढाइ छाडेर नेपाल आएर जागीर खान थालेका थिए । उनी एक पटक घर फर्केको मौकामा मलाई भने– नेपालमा राम्रा राम्रा विदेशी सामानहरु पाइन्छ, तिमीलाई के ल्याइदिऊँ ? मैले भने, मलाई कुनै विदेशी सामानहरु चाहिँदैन । यदि पाइन्छ र सक्छौ भने नारायणगोपालको ठेगाना ल्याइदेऊ । उनले त्यही बेला बताए, उहाँलाई उनले एकचोटि पारस होटलमा भेटेका थिए रे । पछि उहाँसँग भीम मुखियाले त्यसै होटलमा भेटेर उहाँको ठेगाना पठाइदिए र मैले उहाँलाई पहिलो चिठी लेखेँ । अनि सुरु भयो हाम्रो पत्रमित्रता ।
उहाँले पहिलो प्रत्युत्तरमा लेख्नुभएको थियो– म चाँडै बडोदा जाँदैछु, त्यसैले यसको जवाफ केही दिनपछि उतैको ठेगानामा लेख्नु । साथमा उहाँले बडोदाको ठेगाना पनि पठाउनु भएको थियो । हाम्रो पत्राचारमा गीत सङ्गीतको मात्र कुरा भएको हो । सन् १९६५ मा सुकिया पोखरीमा उहाँ, नगेन्द्र थापा, कर्म योञ्जन र गोपाल योञ्जन आउनुभयो । त्यसैबेला हामीले पहिलोपल्ट एकअर्कालाई देखभेट ग¥यौ । हुन त योभन्दा अघि सन् १९६४ मा पनि उहाँ निमन्त्रणामा बडोदाबाट दार्जिलिङ आउनुभएको थियो । त्यसबेला उहाँ र गोपाल योञ्जनबीच मीत लगाइयो । दार्जिलिङको क्यापिटल सिनेमा घरमा उहाँको गायन कार्यक्रम भएछ । मलाई पनि त्यो कार्यक्रम हेर्न उहाँले बोलाउनु भएको थियो । तर मलाई भेट्ने आँट आएन, अप्ठेरो पनि लाग्यो । म गइनँ ।
हाम्रो विवाह २०२७ सालमा भयो । हामी दुबैको घरबाट हाम्रो विवाहको विरोध भयो । बेग्लाबेग्लै जातबीचको यो विवाह दुबै पक्षका परिवारलाई स्वीकार थिएन । त्यसैले उहाँ पनि एक्लै सुकियापोखरी आउनुभयो र म पनि दिदी भिनाजुको घरबाट दुलही बनेर अन्मिएँ ।
विवाहपछि पनि हामी काठमाडौँ घरमा आएनौँ, उतैउतै पोखरा गयौँ र भूपी (शेरचन) दाइको घरमा बस्न थाल्यौँ । हामी भूपीदाइकहाँ पुग्दा उहाँ तीरधनु बोकेर तारो हान्न निस्कनुभएको रहेछ । उहाँकी श्रीमतीले, साह्रै राम्रो व्यवहार गर्नुभयो । त्यसपछि हामी छुट्टाछुट्टै भान्सामा खाएर ६ महिनाजति त्यही बस्यौँ । केही समयपछि मैले स्थानीय रत्नराज्यलक्ष्मीदेवी स्कुलमा पढाउने काम पाएँ, उहाँले पनि अमरसिंह भन्ने भूपू सैनिक विद्यालयमा केही समय काम गर्नुभयो ।
करिब ५ महिनापश्चात् हामी मन नलागी नलागी काठमाडौँ आयौँ । त्यसबेलाको नेवारी समाज आजजस्तो थिएन । म अर्कै संस्कृति, वातावरण र समाजमा हुर्केबढेका मान्छेलाई यहाँको संस्कृति र वातावरण अनुकुल चल्न कठिनाइ हुनु स्वाभाविकै थियो । उहाँले यही कुरा सोचेर होला– हामी हेटौँडा गएर बसौँ भन्नुभएको थियो । तर नगेन्द्र थापाले हामीलाई जानै दिनुभएन । त्यहाँ जानुभयो भने तपाईंको करिअर खतम हुन्छ, जसरी पनि होस् तपाईंले यहीँ बस्नुपर्छ भनेर उहाँले रोक्नुभयो । मलाई पनि धेरै सम्झाउनुभयो । आखिर हामी गएनौँ । त्यसपछि पनि एक वर्षजति हामी सगोलमै बस्यौँ अनि मात्र डेरामा स¥यौ । त्यहाँ पनि ८, १० वर्षजति बसेपछि मात्र महाराजगञ्जमा घर बनाएर सरेका हौँ ।
स्वराभ्यास र स्वराङ्कन
म विवाह गरेर भर्खर आएको थिएँ, उहाँ गोपाल योञ्जनकै सङ्गीतमा मात्रै गाउनुहुन्थ्यो । उहाँ दुबै मीत घरमै बसेर अभ्यास गर्नुहुन्थ्यो । उहाँ, कुनै सङ्गीतकारले गीत सुनाउना साथ प्रभावित भएर तुरुन्तै गाउनुहुन्थ्यो । गीत सङ्गीतलाई विभिन्न दृष्टिकोणबाट हेरेपछि कहाँकहाँ चित्त बुझ्दैन, त्यसमाथि व्यापक छलफल र गर्नुपर्ने परिवर्तन समेत गरेर जब सबैतिरबाट चित्त बुझ्थ्यो अनि मात्रै गाउनुहुन्थ्यो ।
तर सधैं गीतका लागि महिनौँ समय दिन सकिँदैन । समयको अभाव खड्किन थाल्यो । अनिचाहिँ एक्लै क्यासेट सुनेर अभ्यास गर्नथाल्नु भयो । अझ फिल्मका गीतहरुको लागि त साउण्ड ट्र्याकमा अभ्यास गर्नुहुन्थ्यो । गीतको बोलको बाँसुरी, भायलिन या कुनै बाजा लय हालिएको हुन्थ्यो, अनि त्यसैमा उहाँ अभ्यास गर्नुहुन्थ्यो । रञ्जित (गजमेर) दाइले सङ्गीत गर्नुभएका सबै गीतहरु उहाँले यसरी नै गाउनुभएको हो । तर आफ्नै सङ्गीतमा गाउने गीतहरुलाई चाहिँ धुन हालिसकेर घरकै क्यासेटमा भर्नुहुन्थ्यो र फेरि सुन्दा चित्त बुझ्यो भने स्टुडियोमा गएर रेकर्ड गर्नुहुन्थ्यो । तर चित्त बुझेन भने पुनः सुधार्नु प¥यो भने घरमै गएर रेकर्ड गर्नुहुन्थ्यो । पछि २,४ दिनको अन्तरमा सुन्दा चित्त बुझ्यो भने त्यस गीतलाई पास गर्नुहुन्थ्यो ।
उहाँलाई गीत सङ्गीत छान्ने कुरामा केही रुपमा म पनि सहयोग गर्थेँ तर अन्तिम निर्णय उहाँ एक्लैको हुन्थ्यो । कहिलेकाहीँ मलाई मन परेको गीत उहाँलाई मन पर्दैनथ्यो । दिव्य खालिङको सङ्गीत र दिनेश अधिकारीको लेखनको एउटा गीतमा यस्तै भएको छ ।
‘भेटी नभेट्न सक्ने आकाशको तलाउ,
तिमी साँझ बत्ती बाल यात्रा मलाई देऊ’
यसको शब्द र लय मलाई असाध्य मन पनपरेको थियो तर उहाँलाई मन परेन । उहाँले कहाँ चित्त बुझेन भनेर गाउनु भएन । उहाँ मलाई प्रायः सबै गीतहरु सुनाउनुहुन्थ्यो र मलाई सबै मन पर्थे पनि ।
हरिभक्त कटुवालले उहाँलाई मलाई नसोध कहाँ दुख्छ घाउ भन्ने गीत दिएका रहेछन् । उनकै हस्ताक्षरमा लिखित सो गीत अझ पनि हामीकहाँ छ । म अफिसबाट फर्केपछि जहिले पनि क्यासेट प्लेयर चलाएको छ छैन, टेपमा केही भरेको छ, छैन जाँच्दथे । मलाई उहाँले नयाँ केही गुर्नभयो कि भनेर सुन्न सधैं सकसक लाग्थ्यो । यसै क्रममा मैले कटुवालको त्यस गीतका दुई तीनवटा धुनहरु सुनिसकेको थिएँ । जुन धुनको गीत आज रेडियोबाट बज्छ, त्यो पहिलोपल्ट भुइँमा छरिएका क्यासेटहरु छानेर मैले सुनेकी हुँ । एकपल्ट सुन्नासाथ मलाई साह्रै मन प¥यो र यही रेकर्ड गरौँ भनेर मैले कर गरेँ । उहाँले ठट्टा पनि गर्नुभयो, ‘उसोभए तिमीले सुटुक्कै चोरेर पनि सुनिसक्यौ, म सरप्राइज दिउँला भन्दै थिएँ ।’
यस गीतको बारेमा एउटा अर्को पनि रोचक घटना छ । उहाँ कसैलाई आफ्ना नयाँ गीतहरु टेलिफोनबाट सुनाउनुहुन्थ्यो भने त्यो एकैजना भूपी दाइलाई मात्र । उहाँहरुबीचमा फोनमा घण्टौँ कुराकानी हुन्थे । म टेलिफोनको रिसिभर समाएर बसिरहन्थे अनि उहाँचाहिँ हार्मोनियम बजाएर भूपी दाइलाई गीत सुनाइरहनुहुन्थ्यो । कहिले भूपी दाइको फर्मायसीमा र कहिले उहाँकै चाहनामा फोनबाट गीत सुनाउने क्रम जारी नै रहन्थ्यो । त्यसदिन पनि उहाँले मलाई रिसिभर समाउन लगाएर मलाई नसोध सुनाउनुभयो तर यो लय भूपी दाइलाई पटक्कै मन परेन, उहाँले अर्को बदल्न भन्नुभयो । पछि शान्ति ठटाल यहाँ आउँदा उहाँले पनि यो लयलाई राम्रो मान्नु भएन । तर रेकर्ड गर्दा उहाँले कसैको सल्लाह सुन्नुभएन, हामीलाई मन परेकै लयलाई रेकर्ड गर्नुभयो । तर आज त्यही धुन सबैलाई प्रिय भएको छ । उहाँ आफ्नो निर्णयमा कहिल्यै नडग्ने स्वभावको हुनुहुन्थ्यो ।
मैले उहाँको २ वटा गीतको रेकर्डिङ मात्र हेरेकी छु । त्यो पनि उहाँको करले । एकदिन उहाँले भन्नुभयो, सबैजना मेरो रेकर्ड हेर्न रेडियोमा भीड लाग्छन् तिमीचाहिँ किन नआउने भनेर । मैले पनि सोचेँ हो त, किन नहेर्ने ? मैले पुण्य मन पराएँ र तिमीलाई भुल्दा को रेकर्डिङ हेरेँ । त्यस बखतको एउटा कुराले अझसम्म पनि मलाई सम्झना भइरहन्छ । उहाँलाई जिस्किरहनुपथ्र्यो । त्यसदिन त्यहाँ नातिकाजी दाइ, डा. राममान तृषितहरु पनि हुनुहुन्थ्यो ।
तिमीलाई भुल्दा भन्ने गीतमा ‘कि मैलाई सम्झी तिमी मुस्कुरायौ’ भन्ने एक पंक्ति थियो । डा. तृषितले उहाँलाई जिस्काएर सोध्नुभयो, ‘ए सानुबाबु कि मै भनेको चै के हो ? उहाँले तुरुन्तै उत्तर दिनुभयो, त्यो ठिटीको नाम हो । हामी यो सुनेर खुब हाँस्यौँ । मलाई पहिलो अनुभवमै यस्तो लाग्यो, रेकर्डिङ हेर्नुजस्तो अल्छिलाग्दो काम केही रहेनछ । दोहो¥याइ तेहे¥याइ एउटै पंक्ति गाइरहनु पर्ने । अहिले पो ट्र्याक सिस्टम छ, टुक्राटुक्रा गाएर पनि मिलाउन सकिन्छ, त्यो बेला यस्तो व्यवस्था थिएन ।
नारायणगोपाल र रेडियो नेपाल
रेडियो नेपालप्रति उहाँको सधैं गुनासो रह्यो, देशको एउटा मात्र प्रसारण माध्य, त्यो पनि सरकारी स्वामित्व भएको, रेडियो नेपालले रेकर्डिङ्गको राम्रो व्यवस्था गर्नुपर्छ भन्ने उहाँको भनाइ थियो । तर त्यहाँ रेकर्डिङ गर्नुपर्दा एकमुष्ठ बाज बजाउनेहरु समेत उपलब्ध हुँदैनथे । भएका वाद्यवादकहरुमा पनि अनुशासन भन्ने वस्तु रत्तिभर थिएन । आफैंले दौडधूप गरेर बल्लबल्ल जुटाएका वाद्यवादकहरु पनि रेकर्डिङ सुरु हुँदा चिया खान गइसकेका हुन्थे । उहाँलाई सुरुसुरुमा त डेट पाउन पनि गाह्रो थियो । उहाँले रेडियोमा गाउन छाड्नु भएको मूल कारण पनि यही वाद्यवादकको अभाव अनुशासनहीनता र डेटको समस्या थियो । उहाँलाई जुन दिन रेकर्डिङको डेट दिइन्थ्यो, त्यसदिन निश्चित समयमा गाउन जाँदा अर्कैले गाइरहेको हुन्थ्यो । पहिलो कुरा त उहाँ मलाई डेट चाहियो भन्दै नजाने, बल्लबल्ल पाएको पालामा पनि अर्कैले गाइदिने, यिनै कारणले दिकदार भएर उहाँले पछि रेडियोमा गाउनै पनि छाडिदिनु भयो ।
डा. लोहनी सञ्चारमन्त्री हुँदा रेडियो नेपालको विज्ञापन सेवालाई बिस्तार गरियो र त्यससँग सम्बद्ध कलाकारहरुलाई प्रोत्साहित गर्ने भनियो । यस सम्बन्धमा उहाँको विचार थियो, विज्ञापन सेवाको बिस्तार गर्दा गीतहरु बजाउनै पर्छ । त्यसैले जुनजुन कलाकारका गति बजाएर विज्ञापन सेवा चलाइन्छ र आर्जन गरिन्छ ।
ती कलाकारहरुलाई एक पटक बजेको गीतको पाँच पैसामात्र किन नहोस् रोयल्टीस्वरुप दिइनुपर्छ । यस विषयमा उहाँले मन्त्री र सञ्चारका अन्य पदाधिकारीहरुलाई भेटेर कुराकानी समेत गर्नुभयो । तर खै अहिलेसम्म पनि केही हुन सकेको छैन । कारण यही हो, पछि उहाँले रेडियोलाई गीति यात्राका गीतहरु बजाउन दिनुभएन । उहाँ कलाकारहरुको हितमा एउटा सिस्टम बनाउन चाहनुहुन्थ्यो ।
आफ्नो सम्पूर्ण जीवन नै यसैमा समर्पण गरेका कलाकारहरुलाई सम्बन्धित क्षेत्रले बेवास्ता गर्छ भने उनीहरुको परिवार कसरी चल्छ त भन्नु हुन्थ्यो । सम्भ्रान्त हुन नसकोस् तर कुनै पनि कलाकारले कसैका सामुन्ने हात पसारेर खानु नपरोस् भन्नुहुन्थ्यो । तर कसैले ठगेर, ढाँटेर र बेइमानी गरेर खाएको उहाँलाई उचित लाग्दैनथ्यो ।
सांस्कृतिक संस्थानमा जानासाथ उहाँले पहिलो काम यस्तै गर्नुभयो । त्यसबेला त्यहाँ दुईतिर जागीर खाने र नाचघरमा चाहिँ हाजिर गरेर रेडियो र अन्यत्र काम गर्नजाने कलाकार र कर्मचारीहरु निकै थिए । यस्ता केही कर्मचारीहरु निकै थिए । यस्ता केही कर्मचारी र केही कलाकाहरुलाई निकाल्नुभयो । तर त्यही संस्थानकै आधारमा जीवन धान्दै आएका कलाकारहरुलाई निकालिएन । यस कुरालाई लिएर पत्रपत्रिकाहरुले विरोध र गाली पनि छापे तर उहाँले टेर्नु भएन । उहाँको पालामा जति राम्रो काम त्यहाँ फेरि हुन सकेन । उहाँका पालामा सांस्कृतिक संस्थानले आफ्नै आर्जनबाट प्रशासन चलाएको थियो, कलाकार पालेको थियो ।
सार्वजनिक कार्यक्रम प्रदर्शनी गरिँदा बाहिरका या कलाकारका नातेदारले सित्तै हेर्न पाउँदैनथे । टिकट काटेर ने हेर्नुपथ्र्यो । कलाकारका नातेदार या कसैलाई कार्यक्रम देखाउनु छ भने ग्राण्ड रिहर्सलमा देखाउनु पथ्र्यो । म पनि त्यहीबेला हेर्थेँ । यदि त्यसबेला काम विशेषले हेर्न भ्याइएन भने टिकट काटेरै हेर्थेँ । यति हुँदाहुँदै पनि कसैले जबर्जस्ती विना टिकटमा आफ्ना मानिसलाई घुसाएर कार्यक्रम देखायो भने त्यसको हर्जाना त्यसको तलबबाट असुल गरिन्थ्यो ।
यही कारणबाट उहाँ अलि अलोकप्रिय हुनुभयो । अनुशासन र नीति विरुद्ध खेलिखाइ आएका कर्मचारीहरु यसलाई अन्यायपूर्ण ठान्थे । त्यसैले उहाँलाई बढ्ता भएको, घमण्डी भन्ने आरोपहरु पनि लगाइए तर उहाँ आफ्नो निर्णयमा डगमागाउनु भएन ।
निकट सम्पर्कका मित्रहरु
धानचामलको हाकिम भएर झापा जानुअघि नगेन्द्र थापा नियमित घरमा आउनुहुन्थ्यो । र, पुरानो तथा अन्तरङ्ग साथी उहाँ नै हुनुहुन्थ्यो पनि । पछि आफ्नो कामको व्यस्तताले गर्दा नै होला झापा गएपछि उहाँहरुबीच पहिलाजस्तो भेटघाट भएन ।
घरमा आइराख्ने र गर्नेहरुमा कालीप्रसाद सरजाल पनि हुनुहुन्थ्यो । ६,७ वर्षयता चाहिँ विश्वम्भर प्याकुरेलसँग भेट नहुँदा उहाँ कस्तोकस्तो अनुभव गर्नुहुन्थ्यो । विश्वम्भरजी नआउँदा हाम्रो चाडपर्व रमाइलो जस्तै हुँदैनथ्यो, उहाँ दशैँको नवमीको दिन सधैं आउनुहुन्थ्यो । कोहीकोही बेला विश्वम्भरजीसँग भेट भएन भने उहाँ मलाई भन्नुहुन्थ्यो, ‘ए बाबु बाजे किन आएन, एक पल्ट फोन गर त ।’
विगत ४ वर्षयता वसन्त चौधरीसँग पनि उहाँको सम्बन्ध निकै गाढा भएको थियो । उहाँ सिकिस्त भएर वीर अस्पतालको आइसियुमा भर्ना हुनुभएपछि वसन्त चौधरी र नगेन्द्र थापाले पालैपालो उहाँलाई एकैछिन पनि छाड्नु भएन । बीचमा निकै जरुरी कामले वसन्तजी बनारसतिर जानुभएको थियो र फर्कँदा उहाँको लागि चाहिने औषधिहरु विदेशबाट झिकाउने कामको सम्पूर्ण अभिभारा बसन्त चौधरीले लिनुभएको थियो ।
यसरी उहाँका जीवनका विभिन्न समयमा निकट हुनेहरुमा सम्भुजित बासकोटा पनि हुनुहुन्छ ।
रुचि, अरुचि र खुसीहरु
किताबहरु पढ्नु उहाँको मुख्य रुचि थियो । सांस्कृतिक संस्थान छाडेपछि उहाँ दिनभर किताब पढेर घरमै बस्नुहुन्थ्यो । किताबहरुमा पनि इतिहास उहाँको प्रमुख अध्ययनको विषय थियो । उहाँलाई नेपालको इतिहास त कण्ठस्थै थियो भन्दा पनि अत्यक्ति हुँदैन । त्यसबाहेक पाश्चात्य सङ्गीतका पुस्तकहरु पनि त्यत्तिकै अध्ययन गर्नुहुन्थ्यो ।
उहाँको पहिलेदेखि नै पढ्ने बानी थियो । नाँचघरमै छँदा पनि उहाँलाई १०–५ गर्नुपर्ने आवश्यकता थिएन र प्रत्येक फुर्सदका क्षणहरुमा पनि उहाँ अध्ययनमै बिताउनु हुन्थ्यो । यदि केही पढ्नु भएको छैन भने पनि त्यत्तिकै बस्ने बानी थिएन । हार्मोनियम बजाएर गीत गाउनु हुन्थ्यो, समाचारपत्रहरु पढ्नु हुन्थ्यो । यसबाहेक उहाँ नेसनल जियोग्राफिकको पनि त्यत्तिकै गहन अध्ययन गर्नुहुन्थ्यो । किनेर होस् या साथीभाइहरुकहाँबाट मागेर होस् त्यो पत्रिका पढ्ने उहाँको सोख नै थियो । पछि अमेरिकाबाटै मगाएर पनि पढ्नु भयो ।
चेस, पप्लु खेल्न पनि उहाँलाई त्यत्तिकै जाँगर चल्थ्यो । केही काम छैन भने साथीभाइहरुलाई डाकेर घरमै रमझम गर्न पनि उहाँलाई आनन्द लाग्थ्यो । उहाँको अर्को रुचि चाडबाडप्रति थियो । सानो घ्यू चाकु खाने पर्व किन नहोस् उहाँलाई रामै्रसँग मनाउनु पथ्र्यो । म अफिस जान लाग्दा ‘तिमीलाई घ्यू चाकु खाने दिन अफिस जानुपर्छ?’ भनेर जिस्कयाउनु हुन्थ्यो । आपूmले गाएका गीतहरु रेकर्ड भएर आएपछि त्यसको गुणस्तर राम्रो भयो भने उहाँ अत्यन्तै हर्षित हुनुहुन्थ्यो । यसको विपरीत भएमा त्यत्तिकै मूडअफ पनि पाथ्र्यो ।
सोखकै कुरा गर्ने हो भने, उहाँ फुटबल र टेनिसको त्यत्तिकै सोखिन हुनुहुन्थ्यो । दशरथ रङशालामा भएका प्रायः सबै खेलमा उहाँ दर्शकको रुपमा उपस्थित हुनुहुन्थ्यो । योभन्दा अघिल्लो विश्वकप फुटबलमा टेलिभिजनको त्यतिसारो चलन भइसकेको थिएन, हाम्रोमा पनि टेलिभिजन थिएन । त्योबेला सायद उहाँका साथीहरुमध्ये विश्वम्भर प्याकुरेलकहाँ चाहिँ टेलिभिजन सेट थियो र उहाँले नियमित त्यही गएर हेर्नुभयो । गएको विश्वकपमा भने उहाँ बिरामी हुनुहुन्थ्यो र जुनदिन फाइनल परेको थियो, डा. सत्यालले त्यसै दिन अस्पतालमा भर्ना हुनु भनेका थिए । उहाँ बेड बुक गराएर पनि त्यो दिन जानुभएन । रातभरी विश्वकप फुटबलको फाइनल हेरेर बिहान मात्र जानुभयो ।
उहाँलाई पुरानो अचार सारै मन पथ्र्याे । अचार उहाँ आफैँ पनि बनाउनुहुन्थ्यो र छुट्टाछुट्टै भाग लगाएर साथीभाइलाई कोसेली पठाउनु हुन्थ्यो । यसरी नै माछामासु पकाउनमा पनि उहाँ सधैँ अघि सर्नुहुन्थ्यो । खसीको टाउको र नेवारी परिकार ‘त खा’ र ‘सन्या–फुन्या’ उहाँलाई खुब मनपथ्र्यो ।
रोगले च्यापेपछि उहाँ जीवनमा पहिलोपल्ट साह्रै दिक्क र हतास हुनुभयो । खान पनि राम्रो नहुने सधैँ बिसञ्चो, घुमफिर पनि गर्न नसक्ने । त्यसैले उहाँमा झर्किने बानी पनि देखिनथाल्यो । नत्र त उहाँ सधैँ हाँस्ने, हँसाउने र जोकहरु गर्नुपर्ने स्वभावको हुनुहुन्थ्यो ।
घरबाहिर पाटी–भोजमा जाँदा या अन्यत्र कतै कसैले नराम्रो वचन ग¥यो भने उहाँलाई पीर प¥यो । उहाँ घरमा आएर पनि कारण बताउनुहुन्नथ्यो । तिमीहरुलाई केको चासो भन्नुहुन्थ्यो । तर मैले ज्यादै कर गरेपछि भन्नुहुन्थ्यो । स्वाभिमानमा चोट लाग्ने घटना भए भने उहाँ ज्यादै खिन्न हुनुहुन्थ्यो ।
‘स्वर्णिम सन्ध्या’ अति सफल भएपछि उहाँ सायद जीवनमै पहिलोपल्ट यतिबिघ्न खुसी हुनु भएको थियो । त्यसपछि उहाँले सोच्दै नसोचेको ‘जगदम्बाश्री’ पुरस्कार पाउँदा पनि उहाँ साह्रै हर्षित हुनुभएको थियो ।

(स्वरसम्राट नारायण गोपालको २६ औं स्मृति दिवस मंसीर १९ गत आइतबार विभिन्न कार्यक्रम गरी मनाइंएको छ । नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका नारायण गोपालको २०४७ साल मंसीर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । संगीतका हरेक विधाका गीतमा दिएको अद्भूत स्वरका कारण नारायण गोपाल नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक सफल गायक सावित भएका छन् ।
वि.सं. १९९६ साल असोज १८ गते काठमाडौँमा जन्मिएका नारायण गोपालले २० वर्षे उमेरदेखि सुरु गरेको औपचारिक गायन यात्रामा स्वर्गकी ‘रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो जोवन जान लाग्यो’, ‘प्रियसीका यादहरु’, ‘एउटा मान्छेको मायाले’, ‘म त लाली गुराँस भएछु’, ‘तिम्रो जस्तो मुटु मेरा पनि’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’, ‘मेरो आँखालाई राख्ने’जस्ता सयौ कालजयी गीत गाएका छन् । नारायण गोपालले २०३६ सालमा साँस्कृतिक संस्थानको महाप्रबन्धकको जिम्मेवारी समेत निभाएका थिए ।
यसैबीच यस वर्षको नारायण गोपाल स्मृति सम्मान गायिकाद्वय ज्ञानु राणा र मीरा राणालाई प्रदान गरिएको छ । नेपाली गीत संगीतको विकासको क्षेत्रमा योगदान पु¥याएकाले उनीहरुलाई सम्मान गर्न लागिएको नारायण गोपाल संगीत कोषले जनाएको छ । नारायण गोपालको निधनपछि नेपाली सुगम संगीतको विकासमा क्रियाशिल गायक तथा संगीतकर्मीलाई नारायण गोपाल स्मृति दिवस मंसीर १९ को अवसर पारेर सम्मान गरिँदै आएको छ ।
‘बागीना’को नारायणगोपाल स्मृति अंक, ०४९ बाट हामीले यो सामग्री साभार )

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार