सारंगी रेटेरै हुर्काए ९ सन्तान !

काठमाडौं, २९ मंसिर । गोरखाको मसेल गाविस–९ घ्याम्पेशालमा दिनहुँजसो सबेरै सारंगीको धूनसँगै गीत सुन्न पाइन्छ । गाउँलेका घर, आँगन पुगेर सारंगीको धूनसँगै गीत गाएर सुनाउने ती व्यक्ति हुन्, ७१ वर्षीय लालबहादुर गन्धर्व । धर्मराज थापाले गाएको ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनले गाएर सुनाउँछन् । ९ वर्षको हुँदा सारंगी बजाउने सीप जानेका लालबहादुरले वृद्ध भइसके पनि यो कामलाई निरन्तरता दिइरहेका छन् । सारंगी रेटेरै ९ सन्तान, आफू र श्रीमतीको लालनपालन गर्नु कम्ती चुनौतीपूर्ण थिएन । लालबहादुरले हिम्मत हारेनन् । सन्तान हुर्काएर शिक्षादीक्षा दिए । अहिले छोराहरु विभिन्न पेसामा संलग्न छन्, तैपनि लालबहादुर सारंगी बोक्छन् र गीत गाउँछन् । उनले गीतमार्फत् समाचार, सूचना जनमानसमा पुर्याउन सहयोगी भूमिका निर्वाह पनि गरेका छन् । उनले रचना गरेको ‘किन दियो अल्छीको जन्म’ बोलको गीत रहेपनि रेकर्ड भएको छैन । नेपाली सेना, रेडियो नेपाललगायत विभिन्न ठाउँमा जागिरे अनुभव बटुलेका उनले भने–‘सारंगी भिर्दै गीत गाउँदैमा जिन्दगीले नेटो काट्ने भो ।’
हातगोडा चलुन्जेल सारंगी रेटेरै गीत गाउने धोको उनको छ । उनका जेठो छोरा एकबहादुर सारंगी बनाएर बिक्री गर्छन् । माइलो बलबहादुर कृषि पेसामा आबद्ध छन् भने साइला नेत्रबहादुरको निधन भइसक्यो । काइँला छोरा धु्रव गैससका जागिरे हुन् । अन्तरे छोरो सुब्बा व्यापार व्यवसाय गर्छन् भने जन्तरे छोरा बाबुराम सरकारी जागिरे हुन् । पानीमन्तरे छोरो कमल बस चालक छन् । ठूलोकान्छा छोरा ठाकुर सरकारी विद्यालयमा पढाउँछन् । कान्छो छोरा उदय नेपाली सेनामा जागिरे भएको लालबहादुरकी श्रीमती गाजली गन्धर्वले जानकारी दिइन् ।
वि.सं. २०२२ मा रेडियो नेपालमा जागिरे हुँदा गन्धर्वले मासिक तीन सय रुपैयाँ पारिश्रमिक पाउँथे । तारन दल गुल्ममा जागिरे भएपनि उनले लामो समय जागिरलाई निरन्तरता दिएनन् ।
‘दसैं, तिहारमा गाउँ डुल्दा एकैदिनमा पाँच/६ हजार रुपैयाँ पनि कमाएँ’–लालबहादुरले भने । सारंगी रेटेर कमाएको पैसाले छोराहरु पढाउने, बिहान–बेलुकी हातमुख जोर्ने कामका अलावा गन्धर्वले घ्याम्पेशालमा घरघडेरी पनि जोडेका छन् ।
‘आजभोलि कमाइ हुनै छाडेको छ’–उनले भने–‘बुढ्यौलीले छोएछ क्यारे भनेजस्तो स्वर आउँदैन, लामा गीत गाउन सक्दिनँ ।’ अहिले दिनहुँ रु चार/पाँच सय कमाइ हुने उनले बताए । उनका ११ नाति र ९ नातिनी छन् । उनले १७ वर्षको उमेरमा गाजलीसँग बिहे गरेका थिए । सारंगी रेटेर कमाएको पैसाले घर, व्यवहार चलाउन धौ–धौ परेपनि छोराछोरी हुर्काएर पढाउन सकेकामा गन्धर्व परिवार खुसी छन् । ‘भूकम्पले भत्काएको घर बनाउनुपर्नेछ’–उनले भने–‘संघर्ष गर्दैमा जीवन बित्ने रहेछ ।’ – प्रशन्न पोखरेल (रासस)