होली पर्व बहिस्कार
काठमाडौं, ३० फागुन । प्रहरीको गोली लागी आफ्ना पाँच कार्यकर्ताको हत्या भएको विरोधमा सोमबार सप्तरीमा मधेसी मोर्चाको कार्यकर्ताले हिन्दूको महान् पर्व होली पर्व बहिस्कार गरेका छन् । स्थानीयले होली बहिस्कारका गर्नुका साथै हत्याको शोकमा सामूहिक केशमुन्डनसमेत गरेका छन् ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले हर्षोल्लासका साथ मनाउने होली आफ्ना कार्यकर्ताको हत्याले कसैलाई नमनाउन आह्वान गरिएको बताए । जसका कारण राजविराज, भर्दर, कन्चनपुर, सल्यानपुर, बसदिपिक, पठौना, रोपनीलगायत सहरी तथा ग्रामीण क्षेत्रका मधेसी कार्यकर्ता तथा स्थानीय जनताले होली नमनाएका हुन् ।
नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत् सप्तरीको राजविराजमा विरोधकाक्रममा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पाँचजनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए । एक हप्तापछि बन्द खुलेको सप्तरी जिल्ला होलीको रौनकमा पनि शोकमा डुबेको छ । – रासस