ललिका सपनाहरू –वैरागी जेठा

ललिका रगत सिँच्तै
निरन्तर बगिरहेछन्
रालिवाङका पाखरहरू
खोप्दै थवाङका चट्टानहरू
मानविय गीत गाउँछन्
संवेदनशील भाका
कोइलीहरू
विचारको पिठ्यूँमा
ऐँजेरु पलाएपछि
नयाँ युगमा
ललिका थुङ्गाहरू ओइलिएकाछन्
गृष्मऋतुका चर्को घामले
डामेर गालाहरू
काला काला भएकाछन्
ललिको विजय गान
नभएर एउटा क्रुरशासकको
राष्ट्रिय गान गाइरहेछन्
हावाका झोक्काहरू !
यता हावाहरू
पेलेर साम्राज्य फैलाइरहेछन्
सहन सकिन्न
उष्ण आभासँगै रमाएका
मान्छेका आकृतिहरू
रालिवाङ
फगत झम्टिरहेछन्
उनका लाम्टा चुसिरहेछन्
खुर्चिने र उप्किने
आदर्शहरूका ठेलीहरू
बुझ्न नपाइ मारिइन्
ललि मगर्नी !
उनी
जागरणकी शहीद
बिगुल फुक्ने स्त्री
रगतको इतिहासमा
अमर रालिवाङ
आफ्नो वंशावलीको
झण्डा फरफराउँछ
सपनाका आँगनहरूमा
रालिवाङ
बलेसी झरेझैँ झरिरहेका रगतहरू
समाज खोज्दै
जलजलाबाट
थवाङको बेसीमा बगिरहेका छन्
उफ्रन्छ मन
जसरी फुटबल उफ्रन्छ
रालिवाङका पत्थर !
खल्याङ, र बल्याङ, गर्छ
कविताका नृत्यहरूझैँ
ललिका आवाज फुट्छ
थवाङको मझेरीमा !
आँसुहरू समुद्रको छालझैँ
सुसाएर बिगुल फुक्छ
एका बिहानै
ललिमा जिन्दावाद !
गुँरासहरू शोकाकुल छन्
लेकहरूमा
सन्सनी फैलेका
दुषीत हावाहरू
खाम भाषामा आक्रमण गर्छन्
परिवर्तनका नाउँमा
माटो ,चट्टान र धूलो छुट्याउन नसकेर
गोली प्रहार गर्छन्
व्यासीहरू
ललिका छातीमा !
भेडाबाख्रा र गाईहरू
गोठबाट फुकाउँन नपाइ
घाँस र स्यौलाका भारी बिसाउँन नपाई
परर ढ्याम्म ,परर ढ्याम्म
असिनाझैँ वर्षिरहे
खप्दा खप्दै
उनी , धर्तीमा ढलिन
थाम लडेझैँ !
ललिका मगर्नी
युग नै फेर्न
आकाशका श्यामहरूझैँ
रमाइरहेकी थिइन्
आफ्नै खर्कमा !
उत्ताउला भएर
तम्सिएका मालिकहरू
अँध्यारा दिनहरू फैलाउँदै
थवाङको संघार , अँध्यारो बनाइरहेछन्
उनका बाबु आमाले
सकिनसकि उसिनेका गोरुका वफ मासुहरू
झुसिलडगर आउँनजेल खाए
वर्तमान् युग
विचारका दानाहरू
निफन्न ,कुट्न नजानेर
हत्केलाको नाङ्लो फ्यालेर
उत्तर फर्केको मुसा हेरिरहेछन्
ललिले !
वर्गीय युद्धमा
चढाएका रगतका मागहरू
यस्ता हुँदैहोइन
छल, छलको कुराहरूले
ललिले बोक्ने डोकाहरू
वर्तमान् विचारहरू
बोक्न मनपराउँदैनन्
खियालागेका मान्छेहरू
स्यालले खेलेको रत्यौली खेल्न थालेपछि
समाज ऐनाझैँ कसरी टल्कन्छ ?
विचारका ढड्डी छिचोल्दै
उक्लिँदै , ओर्लिदै
पिठ्यूँभरी सातु बोकेर
अनेकौ टाकुराहरू चढेर
ललिका आँगन टेक्दा
लत्र्याक लुत्रुक पर्छ
मनको तरङ्ग !
मानव जातिको गीत गाउँने
रामेश,रायन, मञ्जुलहरू
हरेक पाइलामा उभिरहेका हुन्छन्
हातेमालो गर्दै
उनीहरूका ध्वनीहरू
एकाएक ,
ललिका गीत गाइरहेका
मालाकार र भन्सारीहरूका सङ्गीतले
झंकृत गरिरहन्छन्
मार्चपास खेलिरहेका जनसिपाहीलाई
आकाश पताल ढाक्तै
ललिको दैलोमा !
जीवन ढल्छ आशाँ लिएर
अजिंगरहरू
खेल्दैछन् धेरै झेलहरू
कवि भन्छ
कविता कोर्दिउँला
ललि !
आँखा चिलेर
रालिवाङ रुँदो छे
बुझ्दै
हाम्रो संसार
कसरी बुझाऊँ
युद्धमा फालेका गाथाहरू
मानव आत्मा
घण्टाघरको सुईझैँ बज्छ
बाइजालीहरूका मुटुमा
लिगलिगे धुरीहरू
बार्गिल धुरीहरू
ललिकाको सम्झनामा
मीठो गीत गाइरहेछन् ।