हो कमरेड म वौलाएँ – बलराम तिमल्सिना
हो कमरेड म वौलाएँ !
म खसोखास वौलाएँ
खप्नै नसकेपछि तिम्रो तजविज
देख्नै नसकेपछि तिम्रो चर्तिकला
म सद्दे पटक्कै बन्न सकिन
सद्दे बन्नै नसकेपछि
हुन्छ के त कमरेड ?
कि सद्दे बन्छ
कि वौलाउँछ
तिमी सद्दे भयौ
म वौलाएँ
हो कमरेड म वौलाएँ !
तिमी हामीले सँगै देखेको सपना
जव हात्तीबाट मुसो भयो
र त्यो पनि चोपलियो पानीमा
तिमीले जव खुसियाली मनायौ त्यो क्षण
मेरो सपनाको छत्रभङ्ग हुँदा
कसरी सद्दे रहन सकिन्छ कमरेड
म खप्नै नसकेर बौलाएँ
तिम्रो तजविजको साम्राज्यमा
म खसोखास बौलाएँ !
जव सवैभन्दा भर परेको मानिस
आपत्तिजनक आवस्थामा भेटिन्छ
अरुलाई त ढाँट्न सकिंदो हो
आफैंलाई कसरी ढाँटिन्छ कमरेड ?
वर्षौं ढाँट्न खोज्दा पनि
जव सक्दै सकिएन ढाँट्न
सवैभन्दा पृय लागेको सपनालाई
सडकमै नाङ्गेझार पारेर
जव केही कमरेडहरूले सुरु गर्यौ
सामुहिक बलत्कारको अनुष्ठान
जव हामीले भन्नु पर्ने भयो-
“बल गर कमरेड हैंसे !”
ताल र लय मिलाएर हामीले
पिट्नु पर्ने भयो ताली निरन्तर
हुटिङ्ग गर्दै भन्नु पर्ने भयो-
“वाह कमरेड , क्या वात !”
यो नबेचिएको मनले
त्यसो गर्नै सकेन
अहँ सक्दै सकेन
त्यसपछि हो कमरेड
म सोह्रै आना बौलाएँ कमरेड !
एउटा भयानक दुर्घटनापछि
तिमी सद्दे बसेर मर्यौ
म बहुलाएँ तर वाँचे
यसैमा खुसी मान्दै
सगौरव घोषणा गर्छु
म बहुलाएँ कमरेड
म खसोखास बौलाएँ !
मलाई नवौलाएर मर्नुभन्दा
यसरी बौलाउँन गौरव छ कमरेड !