विषय अभावमा कवि – बलराम तिमल्सिना

धेरै भयो समय
एक जना कवि
कविता लेख्न नसकेर वेचैन छन
खाली छ कागज
वेरोजगार छ कलम
उदास उदास छ कवि
विषय अभावको दुखले !
यो बीचमा भूकम्प गयो
हजारौंको ज्यान गयो
लाखौं घरवार विहीन भए
नागरिकहरूको चित्कारमा
सरकारले वाँसुरी फुक्यो
आइएनजिओहरूले नृत्य गरे
यी हजारौं विषयभित्र
कविले एउटा पनि विषय भेटेन
उसको उदासीले छोड्दै छोडेन ।
गाउँ पसेपछि भूमण्डलीकरण
सोहोरेर ल्यायो युवाहरू
उठाएर लग्यो अरवको खाडीमा
निर्जन भयो गाउँ
बन्जर भए खेत बारीहरू
विप्रेशनको हिसाव नाकालेर
मुसुक्क हाँस्यो सरकार
सपना देख्दै उडेका युवा
सपना विसाएर बाकसमा फर्के
यी सवै दृष्य हेरिरह्यो कवि
तै पनि यौटै विम्व भेटेन
फुर्दै फुरेन कविता !
गाउँ गाउँमा पुग्यो मोवाइल
सँगै पुग्यो फेसवुक
रिचार्ज कार्ड पनि पुग्यो
सेनेटरी प्याड पुगे
ड्राइपट पुगे
चाउचाउ पुग्यो
लेज पुग्यो
वासी भात घुर्यानमा फालेर
झगडा गर्न थाले केटाकेटी
ललीपप मागेर आमासँग
महङ्गी उकालो चढ्यो
आयस्ता ओरालो झर्यो
गाउ गाउमै पुगे नयाँ साहुजीहरू
ऋणको वोझमा फसे किसान
यी पनि सवै देख्यो कविले
तर अहँ एउटै कविता जन्मेन
यो पटक पनि उदास बस्यो कवि !
उदास उदास चौतारीमा
बसिरहेथ्यो कवि
परबाट अनायास आयो
यौटा कविताको विम्व
कविलाई मन पर्ने खास्साको विम्व !
पानी परिरहेको थियो
झरीमा रुझ्दै रुझ्थै
आइरहेकी थिइन एक जना युवती
कपालबाट खसीरहेका पानीका थोपा
शरिरमा टपक्क टाँसिएको टिशर्ट
टिशर्ट बाहिरैबाट अनुमान गर्न सकिने
अन्तरवश्त्रविहीन
युवतीका युगल अङ्गहरू
कवि उत्तेजित भयो
वर्षौं हराएका कविता
झरी परेको दिन
युवतीको शरीरबाट
अकस्मात जन्मियो
झण्डै झण्डै मरेको कवित्व
हठात ठिङ्ग उभियो
र लेख्न सुरु गर्यो कविता !
भोलिपल्ट राजधानीमा
एउटा भव्य कार्यक्रममा
वाचन भयो कविता
भव्य वाहवाही मच्चियो
पर्सी टल्ट नै हो
एउटा प्रख्यात दैनिकले
छाप्यो कविको कविता
निपर्सिको दिन
एक समिक्षकले टिप्पणी गरे
“यो दशककै सुन्दर कविता ”
एक सप्ताहपछि
राजधानिको एउटा प्रहरी चौकीमा
तिनै युवतीले उजुरी हालिन –
आशय करणीको
किटानी जाहेरीमा थियो
तिनै कविको नाम !