समयको महत्व – बलराम तिमल्सिना

समयमा दवाइएन भने ट्रिगर
शिकारले स्थान वदल्छ
हुन्छ के भने नि साथी-
शिकारको सट्टा शिकारी ढल्छ !
तिम्रो निशाना सही छ भने
ट्रिगर दवाऊ हेरेर नबस
हेरेर बस्नेहरू हेरेकोहेरै हुन्छन् !
समयले उठाएका प्रश्नहरूको
समयमै दिनु पर्छ जवाफ
कैलेकाहीं यस्तो हुन्छ-
ढिलो गरी दिएको उत्तरले काम गर्दैन
अर्थात कसैले पहिलै दिन्छ उत्तर
र पहिरिन्छ विजयको माला !
हरेक कुरा ठीक समयमा हुनु पर्छ
विरुवा उम्रनु
आन्दोलन चलाउँनु
ताँदोबाट तिर छोड्नु
या मुखबाट केही ओकल्नु !
ठीक समयमा भएनन् भने यी कुरा
विरुवा उम्रन्छ- फल लाग्दैन
आन्दोलन चल्छ- अघि बढ्दैन
तिर चल्छ- शिकार ढल्दैन
बोली खुस्कन्छ – प्रभाव छोड्दैन !
हेर साथी !
सही समय छानिएन भने
‘आइ लभ यु’ भन्दा पनि
प्रेम बस्दैन बरु उल्टो
गालामा चप्पलको डाम बस्छ !
जव मायाँ गर्छु भन्न त समय चाहिन्छ
भन त साथी –
अनेक अप्ठेरा कुरा गर्न
समय कति निर्णायक होला ?