जुका जस्तै – बलराम तिमल्सिना

जुकाले जस्तै चुसिन्छ
जनजनका रगत
करको नाममा
र खोलोजस्तै बगाइन्छ
अनुदानको खोलो
कार्यकर्ताको नाममा !
पहाडजस्तै थुपारिन्छ
आफन्तको नाममा !
बृध्द -बृध्दाले हात पसारे भने
विर्सिएर चुनाव छेकको भाषण
नकचरो पल्टेर भनिन्छ-
‘रिण खोजेर अनुदान दिन सकिन्न !’
जुकालेजस्तै चुसेपछि
जुकाजस्तै ढाडिएको छ शासक
सुकेनास लागेका छन् जनता !
यी जुकाजस्तै चुस्ने
शासकको नाम
जे भए पनि के मतलव
इदि अमिन होस या हिटलर
माओ होस या लेनिन !
पुराना जुकालेजस्तै चुसेपछि
यी नयाँ जुकाहरूले
आफूलाई जे भने नि के फरक !
यिनीहरूले आफूलाई
समाजवादी भनुन या जनवादी
यिनीहरूको जुके संगठनलाई
साम्यवादी भनुन या लोकतन्त्रवादी
के फरक पर्छ श्रमिकलाई ?
एक हुल पूर्व-क्रान्तिकारीहरू
होलसेलमा फेरिएका छन- जुकामा
भोको बच्चाले दूध चुसेझैं
झम्टा मारिरहेछन् जोडेर थुतुनो
प्वाल पारेर अर्थतन्त्रको नशामा
यी जुका अवतारका कमरेडको नाम
लेनिन राखे नि के माओ राखे नि के ?
एउटा नयाँ उखान जन्मेको छ-
“जुन जुका आए पनि रगतै चुस्ने !”