मार्क्सवादी समालोचना प्रकाशित

२०७५ श्रावण २९ गते, मंगलवार

काठमाडौं, २९ साउन । मार्क्सवादी लेखक तथा साहित्यकार खेम थपलियाको ‘माक्र्सवादी समालोचनाः सिर्जना र सङ्घर्ष’ नामक समालोचनात्मक पुस्तक प्रकाशनमा आएको छ । नेपाली साहित्यमा माक्र्सवादी समालोचनासम्बन्धी चर्चा अपेक्षाअनुरूप हुन नसकिरहेको बेला माक्र्सवादी नाटककार तथा समालोचक खेम थपलियाको उक्त समालोचनात्मक कृति प्रकाशनमा आएको हो । नेपालमा यदाकदा मार्क्सवादी समालोचनासम्बन्धी बहस हुने गरेका छन् तर तिनलाई व्यवस्थित रूपमा समालोचकीय मानकका रूपमा विकास र विस्तार गर्ने काम सुस्त नै छ । माक्र्सवादी धारालाई जबर्जस्त त्यसको विपरीत धाराले थिच्न खोजिरहेको यतिबेला त्यसविरुद्ध प्रतिरोधात्मक भौतिकी तथा वैचारिकी ऊर्जासहित खेम थपलियाले कलम चलाउने प्रयास गरेका छन् ।
मार्क्सवादी समालोचनाको पछिल्लो लेखकीय ढाँचा र विषयको गाम्भीर्यसहित यसलाई मात्रा र गुण दुबै रूपमा माथि उठाउन थपलियाको यो प्रयास निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । सातवटा महत्वपूर्ण समालोचनात्मक आलेख रहेको प्रस्तुत पुस्तक समकालीन नेपाली मार्क्सवादी समलोचनाको क्षेत्रको एउट दर्विलो हस्तक्षेप हुने लेखकले थपलियाले विश्वास लिएका छन् ।
नेपालमा जनपक्षीय साहित्यिक–सांस्कृतिक प्रतिष्ठानहरूको विकास हुन सकिरहेको छैन । राज्यसत्ता जनपक्षीय साहित्यिक–सांस्कृतिकधारा–मैत्री बन्ने सम्भावना पनि कम छ । पुरातन चिन्तन र संस्कारको हालीमुहाली चलिरहेको यतिबेला प्रतिध्रुबीय साहित्यिक–सांस्कृतिक क्षेत्रलाई धारिलो प्रहार गर्न माक्र्सवादी समालोचनाको फाँट समृद्ध बनाउने उद्देश्यका साथ प्रस्तुत पुस्तकमा खेम थपलियाद्वारा प्रतिध्रुबीय धारा, संशोधनवाद–नवसंशोधनवाद, उत्तर–मार्क्सवादविरुद्ध तथा मालेमावादलाई सही तरिकाले पक्रेर तयार पारेका विचारोत्तेजक समालोचनात्मक आलेखहरू समाविष्ट छन् ।
खेम थपलियाको प्रस्तुत समालोचनात्मक कृतिमा ‘माक्र्सवादी समालोचना ः सिर्जना र सङ्घर्ष’, ‘भुइँचालो र साहित्यिक–सांस्कृतिक मनोदशा’, ‘कला–साहित्यमा दुई लाइन सङ्घर्ष’, ‘नयाँ यथार्थपरक नाटक ः प्रवृत्ति र प्राप्ति’, ‘वर्गसङ्घर्षको जिउँदो अभिव्यक्ति ः ती आँधीमय दिनहरू’, ‘क्रान्तिकारी गीत–सङ्गीत ः सङ्क्षिप्त पर्यवेक्षण’ र ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधानः समीक्षात्मक अवलोकन’ जस्ता सातवटा समालोचनात्मक आलेख सङ्गृहीत छन् । पृष्ठ सङ्ख्या २६४ र मूल्य रु. २५० रहेको प्रस्तुत पुस्तकलाई अर्को मोर्चाले प्रकाशन गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार