नखरा – बलराम तिमल्सिना

जव सिधै आउँन गाह्रो हुन्छ
बाख्राको टाट्नासम्म स्याल
त्यसपछि ऊ नखरा पारेर आउँछ
बाख्राकै छाला ओढेर आउँछ
ऊ म्याँ म्याँ कराउँदै
त्यसपछि
एका विहानै खोरबाट
घोर्ले खसी हराउँछ !
जव सिधै पस्न गाह्रो हुन्छ
तिम्रो आँखाको दैलो उघारेर मनमा
त्यसपछि उसले पनि नखरा पार्छ
ऊ गुलावको फूल लिएर आउँछ
ऊ प्रेम पत्र बोकेर आउँछ
भोलिपल्टैबाट
तिम्रो एक थान दिल घाइते भैसक्छ !
हिजो आज चोर पनि
पाहुना बनेर आउँछ
कोसेली बोकेर
उम्मेदवार बनेर
आश्वासन बोकेर आउँछ
भोलिपल्ट विहान
तिम्रा भर्जिन सपनाहरू
अपहरित भैसकेका हुने छन !
तिम्रो हात पक्रन मन लाग्यो भने
या छामछुम पार्न मन लाग्यो भने
ऊ हात हेर्ने ज्योतिष बनेर आउँछ
धामी झाँक्री या डाक्टर बनेर आउँछ
ठीक अर्को दिनबाट
तिमीलाई वाकवाकी लाग्न थाल्छ !
जसरी मेरो देशको सरकार आएको छ
हाम्रै झण्डा बोकेर
हाम्रै नाम र नारा बोकेर
ठ्याक्कै हाम्रै रङ्ग बोकेर
सवैभन्दा बढी नखरा सरकार गरिरहेछ
हामी भ्रमको थाङ्नामा निदाइरहेछौं !