देश अर्थात चिता-चिहान – बलराम तिमल्सिना
यो देशका धेरै युवाहरूलाई
कतार थाहा छ
मलेशिया थाहा छ
तर
सितल निवास थाहा छैन
किन कि
कतार मलेशियाले पेट पाल्छ
सितल निबास भाग खोस्छ !
आफ्नै देशको भएर पनि
सिंह दरवार धेरैलाई थाहा छैन
बरु
असम थाहा छ
काला पहाड थाहा छ
दिल्लीका गल्ली गल्ली थाहा छ
आसम र काला पहाडले
भान्सामा नून तेल थप्छ
सिंह दरवार
घाऊमा नून थप्छ !
पूँजीपति त देशमा पनि छन
विनोद चौधरी छन
कमरेड सुमार्गी छन
उपेन्द्र महत्तो छन
शेष घले छन
पूर्व ‘प्रजावत्सल’ जिवि शाह छन
तर
यो देशका विस्थापित मजदूरहरू
ती कसैलाई चिन्दैनन्
बरु
म्यान पावर कम्पनी
राहदानी विभाग
र नयाँ गौचरण चिन्छन् !
यसरी सिङ्गो देश
क्रमश चिता-चिहान बन्दै छ
वाँचुन्जेल त
आधा नेपाल
विदेश उकास्दै सकिन्छ !