प्रश्नै प्रश्नको घेरा– बलराम तिमल्सिना

छोरीहरूलाई वचाऊँ
बलात्कृत हुनबाट / मारिनबाट
र वचाऊँ छोराहरूलाई
इज्जत जानबाट/ हत्यारा हुनबाट
छोराहरू अर्थात
समग्र मर्द प्रजातिलाई बचाऊँ
कलङ्कित हुनबाट !
प्रकृतिका यी पुरक प्रजातिहरू
कसरी अघि बढ्लान खै –
शिकारी र शिकारको संवन्धमा ?
कुन धर्मको शिलाजित
कुन दर्शनको यार्सागुम्वा
या कुन वादको भियाङ्ग्रा खाएर
एतिसाह्रो उन्मत्त भयो पुरुष ?
कुन हर्लिक्सको तागत
कुन भिटामिनको तुजुक
र कुन गल्लीको शक्तिवर्धक चूर्णले
यसरी पागल भयो पुरुष ?
कुन चलचित्रको प्रेरणा
कुन साइटको लहै लहै
र कुन संगतको पछि लागेर
वलात्कारको लागि तयार भयो पुरुष ?
नियमको /कानूनको
राज्यको /समाजको
प्रशासनको/ प्रहरीको
कुन कमजोरी
र कुन सहुलियत प्राप्त गरेर
खुलीरहेछ वलात्कारको कारखाना ?
कुन अन्न र कुन पानी खाएर
निर्धक्क हुर्किरहेछ त्यो
कुन आदेश
कुन परमादेश
कुन धारा
र कुन दफा टेकेर
उम्किरहेछ वलात्कारी मिलापत्रमा ?
र मिलापत्रको नाममा
अपराधीलाई छुट दिने
त्यो कुन दुई-खुट्टे समाज हो ?
हामी प्रश्नै प्रश्नको घेरामा छौं
जवाफ राज्यले मात्र होइन
हामी हरेकले दिनु पर्छ !