समृद्धिको सपना – राजबाबु श्रेष्ठ ‘सागर’

मैले आफ्नो लागि
कहिल्यै उदाइंन
मैले कहिल्यै आफ्नो लागि पानी पारिन
मैले कहिल्यै आफ्नो लागि
फलफूल फलाईंन ।
प्रकृतीको १४३२ धारालाई पालना गर्दै
अन्नबाली/फलफूल/सागपात
र घाँसहरू उब्जाईरहें
तर कहिल्यै आफ्नो लागि गरिन ।
मैले आफै बाटो बनाउँदै
अविरल बगिरहे र समुद्रमा समाहित भएँ
तर कहिल्यै आफू बगेको मजदुरी मागिन ।
मैले आफ्नै छातीमाथि
मान्छे/जनावर/भारबाहानलाई बाटो बनी
हिंडाईरहे हिंडाईरहे तर कहिल्यै ज्याला मागिन ।
म मा मीठा रसका
विभिन्न फलफूल फल्नु र फुल्नुका साथै
असंख्य विषालु काँडाहरू पनि त उब्जिरहे
तर मैले कहिल्यै असन्तोष जनाईँन ।
एकै छातीमा
हामी हुर्केका छौं र त मिलेर अटाएका छौँ
तर कहिल्यै हामीले अग्रगामी सूर्यको
मार्ग रोकेनौं र त चलिरहेछ संसार अविवादित् भई
किनकि हामीमा मुटु छैन
र त छैन हामीमा भावना र स्वार्थ पनि ।
त्यसैले त
ए नाराको घोडा चढ्नेहरू हो !
मिल्काऊ तिमीहरूको स्वार्थको विष्ठा
र देख समृद्धिको सपना ती अभावका खाडलहरूमा
निभाऊ ती नाराको दन्किंदो आगोहरू
जसले समृद्धिको सपना मात्रै होइन
देशै जलाउने गर्छ
र दौड यसरी जसरी म दौडिरहेछु
प्रत्येक औंसीको रातको पाठेघरमा
प्रदीपको विर्य छर्दै ।