कविका प्रकार – बलराम तिमल्सीना
तपाईले
जिन्दगीभरि कविता लेख्नु भयो
तर मात्रै सम्मान-पत्र पाउँनु भयो
केही नियुक्ति-पत्र पाउँनु भयो
र केही कदर-पत्र मात्र पाउँनु भयो
एउटा पनि धम्की आएन कसैबाट
एउटा पनि पूर्जी टाँसेन राज्यले
एक दिन पनि हिरासत बस्नु परेन तपाई
तपाईको कविताको कारणले
यदि यस्तो मात्र भयो भने बुझ्नुस-
तपाई भाट कवि हो !
तपाईका कविताले
खुरु खुरु स्थान पाए राष्ट्रिय पत्रिकामा
तपाईका कविता सुन्न
शासकहरूले तपाईको नाम सिफारिस गरे
र कविता सुनिसकेपछि
हात समतेर एकान्त लगे र फुस्फुसाए केही
तपाई सेल्फी खिचेर फर्कनु भयो
तपाईलाई भ्याई नभ्याई छ
बजारले आयोजना गरेका
एकल वाचनहरूमा ताली थाप्न
तपाई गदगद हुनु हुन्छ यसैमा
यदी यस्तो छ भने तपाईको दैनिकी
तपाई पात कवि हो !
तपाईका कविता
केवल स्त्री अनुहारको वर्णन गर्छन
कुनै तरुनीका ओठदेखि हुरुक्क हुन्छन
तपाईलाई केवल
चुम्वनको तिर्खालाग्छ पानीको हैन
प्यारको भोक लाग्छ भातको हैन
दिनमा एक पटक
पेन्टिङ गरिएको अनुहार प्रदर्शन गरेर
कवयत्रीहरूको लाइक र कमेन्ट बटुल्ने
केवल यही मात्र सपना छ तपाईको
यदी यस्तो रोग छ भने तपाई भित्र
तपाई कवि त हो
तर तपाई घाँस कवि हो !
तपाईलाई
न्यायको लागि लड्नु छैन
समानताको मतलव छैन
स्वतन्त्रता ठुस्स गन्हाउँछ
शब्दहरूको जाल बुन्नु र पोथी चरा फसाउँनु
निराशाको चर्चा गर्नु र उठेकालाई बसाउँनु
शून्यताको गफ दिनु र बसेकालाई सुताउँनु
केवल बजारमा हाइहाइ हुनु
ह्याण्डसम हुनु र केही हात पार्नु
यही मात्र हो तपाईको जीवनीको लक्ष भने
तपाई लास कवि हो !
कविता लेखेको कारणले
तपाईले पुलिसको लठ्ठी खानु परेन
तपाईले कैलै जेल जानु परेन
तपाईको कुनै पनि कविता
कहिलै प्रतिवन्धित भएन
या तपाईलाई मार्ने धम्की आएन
केवल आहा आहा मात्र आयो भने
तपाई सवैको ‘मान्य’ हुनु भयो भने
सम्झनोस –
तपाई कवि नै होइन
बढीमा तपाई आलु कवि हो
यदि त्यस्तै त्यस्तै छ हालत भने
तपाई मात्र किन म पनि आलु कवि नै हो !
म सोचिरहेछु-
मैले कविता लेखे वापत
सरकारले मेरो नाममा
कमसेकम एउटा गोली छुट्याओस !
न कुनै पूर्जी टाँसिन्छ
न कुनै धम्की आउँछ
म असाध्यै चिन्तित छु –
कतै मेरो हालत पनि
घाँस कवि सरह त हुने हैन ?