गायव हुने सिलसिला – बलराम तिमल्सीना
देशबाट धमाधम गायव भैरहेका छन
ठूलो कष्टले प्राप्त गरेका चिजहरू !
शासनको शिरबाट
हठात गायव छ गणतन्त्र
आदिम लासलाई काँधमा बोकेर
ऊ पागल प्रेमीझैं मन्दिरतिर हिडिरहेछ
बच्चाहरू जिस्क्याइरहेछन-
‘ऊ ऊ गणतन्त्र आयो !’
कसैले नचिन्लान भन्ने डरले
छात्तीमा लेखेर हिडेको छ ऊ-
गणतन्त्र
यही एउटा पोष्टर नहुने हो भने
गणतन्त्र सोह्रै आना गायव छ !
राज्यको संरचनाबाट
अचानक गायव छ संङ्घीयता
चौध अञ्चललाई गाभेर लापर्वाहीपूर्वक
सात वटा विकलाङ्ग कित्ताहरू छन
यसरी पनि हेर्न मजाले मिल्छ-
यी पाँचमा दुई थपिएका विकास क्षेत्र हुन
सूचनापाटीबाट
झिकिदिने हो भने सङ्घीयता शब्द
वाँकि रहने विकास क्षेत्र मात्रै हो ।
संविधानको धर्मनिरपेक्षता
संविधानकै झ्यालखानामा कैद छ
शासकहरू उसै गरी दौडिरहेछन
हिन्दू- धर्म पीठ र मन्दिरहरूमा ।
गाईको मासु खाएको आरोपमा
उसै गरी हिरासत पुगेका छन
र उसै गरी जेल परेका छन दोर्जेहरू
संविधानका अक्षरहरूबाट
झिकिदिने हो भने धर्मनिरपेक्षता
देश हिन्दू अधिराज्य नै चलिरहेछ !
समावेसी र समानुपातिक
वाँडिएका छन खोजी गोजीमा
गोजीबाट ती नाम मात्र निस्कन्छन
र थपक्क सपथ खान पुग्छन
जो गोजीवालाका आफन्त छन
या बढीमा परम भक्त छन
शब्दको पर्दा निकालिदिने हो भने
समानुपातिक र समावेशिता
एउटा भद्दा मजाक मात्र रहने छ !
देशमा राजा छैन
यो सत्य पनि र असत्य पनि हो
राजा छैन तर राजाहरू छन
सित्तल निवासबाट निस्कदा सवारीमा
टाउकोमा एउटा श्रीपेच कम भएको हो
वाँकी जे चलेको छ पुरानै चलेको छ
नाम फेरिएको राजतन्त्र मजाले चलेको छ !
यसरी देशको शासनबाट
लगातार गायव छ-
जनताले लडेर ल्याएको भनिएको चिज
जनताको शिरमाथि बज्रिने
मुङ्ग्रोको आकार उत्रै छ
हनाई उस्तै छ
र मुङ्ग्राको प्रहारले
दैनिक दुख्ने दुखाई उस्तै छ !
‘सयौं थुङ्गा फूलका हामी’को सट्टा
श्रीमान गंभीर बज्ने हो भने
सित्तल निवासलाई
राज निवास भनिदिने हो भने
र सात वटा अड्डाको पाटीमा
विकास क्षेत्र लेखिदिने हो भने
वाँकि जे रहन्छ
त्यो सवै हिजो कै रहन्छ !
सतिदेवीको लास बोकेर
पागल बनेर हिडेका महादेवझैं
अतितको लास बोकेर
समृध्दिको गीत गाउँदै
हिड्ने गणतन्त्रको अनुहारबाट
अचानक गणतन्त्र गायव छ !
थाहा छैन ,
यो गायव हुने सिलसिला
कहाँ पुगेर रोकिने हो ?
के के गायव बनाएर रोकिने हो ?