कला साहित्य उत्सवको चौथो शृङ्ला फागुन १८ देखि
काठमाडौ, ३ फागुन । रिडर्स झापाले हरेक दुई/दुई वर्षमा आयोजना गर्दै आएको कला साहित्य उत्सवको चौथो शृङ्ला यही फागुन १८ गतेदेखि २० गतेसम्म हुने भएको छ । काँकरभिट्टामा हुने सो उत्सवमा १४ वटा विषयमा छलफल गरिने आयोजकले जनाएको छ । कार्यक्रम संयोजक हरि तिम्सिनाका अनुसार यो वर्ष कला प्रदर्शनी, चित्रकला, आर्ट क्वीज र फोटो प्रदर्शनी एवम् नाटक मञ्चन गरिनेछ ।
कला साहित्य उत्सव लेखक र साहित्यकारका लागि मात्र लक्षित नभई विद्यार्थी एवम् सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि भएको आयोजकले जनाएको छ । उत्सवमा कला, साहित्य, संस्कृति, अर्थ–राजनीति, सञ्चार एवम् पर्यावरणजस्ता विषयमा चर्चा गरिने बताइएको छ । लेखक, साहित्यकार, पत्रकार, राजनीतिक व्यक्तित्व र कलाकार गरी तीन दर्जनभन्दा बढीले कार्यक्रममा सहभागिता जनाउने बताइएको छ ।