श्रीपेच अर्थात ऐंजेरु – बलराम तिमल्सीना
राजा बन्न
श्रीपेच लगाउँनै पर्छ भन्ने रहेनछ
जसरी
हिजो आज कोही श्रीपेच लगाउँदैन
तर राजाहरू अनगिन्ति छन
श्रीपेच भन्नु त सोच रहेछ
अरुलाई रैती देख्ने सोच
आफूलाई मालिक मान्ने सोच
राजा बन्न श्रीपेच लगाउँनै पर्छ भन्ने रहेनछ !
जसरी,
राजा बन्न श्रीपेच लगाउँनै पर्छ भन्ने छैन
त्यसै गरी
मालिक बन्न राजा हुनै पर्छ भन्ने रहेनछ
जसरी
आज राजा छैन यो देशमा
तर मालिकहरू छन असंख्य
जो आफूलाई राजाकै उत्तराधिकारी सोच्छन
जो अचेल
राजाको अनुपस्थिको काम गर्छन
अर्थात ती,
हिजो राजाले गर्ने गर्ने मात्रै काम गर्छन !
राजा भन्नु या श्रीपेच भन्नु
अरु केही होइन रहेछ
मात्रै सोच हो रहेछ
कसैलाई मालिक सोच्ने
र कसैलाई दास सोच्ने !
अरुलाई तुच्छ सोच्ने र आफूलाई महान सोच्ने
श्रीपेच भन्नु त
टाउकोमा उम्रिएको
अहङ्कारको ऐंजेरु रहेछ !
फरक एत्ति हो
पैले त्यो ऐंजेरु
टाउकामाथि हुन्थ्यो कसैको
अहिले,
धेरैका टाउकोभित्र पसेको छ !