उसलाई डर छ ! – बलराम तिमल्सिना
उसलाई खतरा छ-
मरेका मान्छेहरूका नमरेका सपनाबाट
अहिले पनि जो सपनाको कुरा गरिरहेछन
ती सवैबाट उसलाई खतरा छ !
उसलाई प्रश्नहरूबाट खतरा छ ।
ऊ चाहन्छ-
सारा प्रश्नहरूको नरसंहार गरौं
मान्छेका दिमागहरूमा भरौं
प्रश्न निवारक रसायन
र मस्तले सुत्न पाइयोस समृध्दिको निद्रा !
हिजो आज ऊ
फूलहरूसँग पनि डराउँछ
उसको आदेश बेगर पनि
निस्फिक्री फुलेका फूलहरू
उसलाई खुङ्खार अपराधी लाग्छ !
बुलेट प्रुफ बाक्साभित्र पसेर
ऊ सिपाहीहरूलाई उकासिरहेछ –
“हमारे बहादुर सिपाहीयों
आप लोग मत डरना !
सिपाहियों के लिए-
मृत्यु नही सहादत मिलता है
और सहादत
सव से अच्छा अवशर है !”
उसलाई,
बुलेट प्रुफ डव्वा भित्र पनि डर छ
कुनै दिन
आफैंले उकासेका सिपाही
आफैंतिर फर्के भने के होला ?
उसलाई
आफ्नै षडयन्त्रसँग पनि डर छ !
ऊ डोभाल मात्र होइन
शासकहरूको प्रतिनिधि नाम हो !
मानिसहरूले बुझिसके –
संसारमा सवैभन्दा कायर शासक हुन्छन
आफैले हत्या गरेका
हजारौं मानिसहरूका
नमरेका सपनाहरूसँग
तिनीहरू बेस्सरी डराउँछन !
(बुलेट प्रुफ बक्सभित्रबाट सिपाहीहरूलाई संवोधन गर्दै गरेको भारतीय सुरक्षा सल्लाहकार अजित डोभालको भाषण गरिरहेको फोटो हेरेपछिको प्रतिकृया ।)