भान्सा-वैज्ञानिक – बलराम तिमल्सिना
कराहीमा
पैले तरकारी हाल्ने कि तेल ?
अहँ थाहा छैन !
तरकारीमा
पैले वेसार हाल्ने कि नून ?
छैन क्या थाहै छैन !
पैले पानी उमाल्ने हो ?
या पैले तेल तताउँने हो ?
कति सिट्ठी लागेपछि दाल पाक्छ ?
र कति सिट्ठीमा भात पाक्छ ?
अहँ अहँ यस्तो कुरा थाहै छैन !
कुकरमा या देक्चीमा
खड्कुलोमा या कसौंडीमा
चामल र पानीको अनुपात
औंला चोवेका भरले कसरी थाहा पाउँने ?
त्यो त झन मेलो मेसो छैन !
नूनको वेसारको
खुर्सानीको मसलाको
यी सव केमिकल कम्पोजिशन
कसरी मिलाउँछन महिलाहरू ?
खै त्यो अवलाहरूको शास्त्र
हामी शक्तिसालीहरूलाई पत्तै छैन !
हामीलाई मीठो भएको थाहा हुन्छ
नमीठो भएको पनि थाहा हुन्छ
तर कसरी मीठो र नमीठो हुन्छ
त्यो अनपढ महिलाहरूलाई मात्रै थाहा हुन्छ !
भान्सा अँध्यारो भयो भने
सिङ्गै दिन अँध्यारो हुन्छ- थाहा छ
तर भान्सा उज्यालो पार्नेहरूको अनुहार
किन सँधै अँध्यारो हुन्छ ?
हामी विद्वान प्रजातिलाइ अझै थाहा छैन !
समयको उत्तरार्धमा उभिएर
म सोचिरहेछु-
भान्सा – जिन्दगीको ल्याव रहेछ
र आमाहरू रहेछन-
भान्सा अर्थात ल्यावका वैज्ञानिकहरू !
त्यसो त ,
आमाहरू धेरै थरि वैज्ञानिक हुन !